नेपाल टेलिकमद्वारा मुस्ताङमा ‘टू जी’ बाट ‘थ्री जी’ सेवा विस्तार

 भदौ २९, २०७८ मंगलबार १०:२५:१३ | रासस
unn.prixa.net

 मुस्ताङ - मुस्ताङकाे प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ  ।

उपल्लो मुस्ताङमा रहेका दुईवटा बीटीएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बाग्लुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बीटीएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टू जी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्री जी’ सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।

यसैगरी चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बीटीएस टावर जडान गरिएको छ । टू जी क्षमताको टावरले दामोदरकुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिनुभयो ।

'मुस्ताङमा यसै पनि लोड कम छ, त्यहाँ विस्तार भएको थ्री जी सेवाले मात्रै उपभोक्ताले उच्च गतिमा इन्टरनेट र भ्वाइस पाउँछन्', उहाँले भन्नुभयो, ' मुस्ताङका सबै गाउँ कभर हुने गरी नेटवर्क विस्तार भएकाले अब समस्या हुँदैन ।'

मुस्ताङमा टावर निर्माण नभएका ठाउँमा समान्य विद्युतकाे पोलमा बीटीएस प्रणाली जडान गरेर टेलिकमले सेवा विस्तार गरेको छ । सदरमुकाम जोमसोम बजारमा ‘फोरजी सेवा’ विस्तार भइसकेकाले गाउँमा पनि आवश्यकताका आधारमा स्तरोन्नति गरिने टेलिकमले जनाएको छ । धेयगाउँको टावरमा सौर्यऊर्जा जडान भएपछि विद्युत् नभएको बेलामा समेत उपल्लो मुस्ताङमा सञ्चार सेवा बन्द नहुने प्रमुख शर्माले बताउनुभयो ।

बाग्लुङका सबै गाउँमा फोरजी तयारी 

टेलिकमले आउँदो दशैँसम्ममा बाग्लुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा यस सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फोरजी सेवा पुग्ने गरी बीटीएस टावरको स्तरोन्नति थालेको हो।

'अहिले दमेक, अर्गल, राङ्खानी, पातिहाल्ने र जलजलाको टावर स्तरोन्नतिको काम भइरहेको छ', प्रमुख शर्माले भन्नुभयोे, 'दशैँसम्ममा पाँचवटै टावरको काम सकिन्छ, त्यसपछि लगभग जिल्लाभरि नै फोरजी सेवा उपलब्ध हुन्छ ।'

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया