सर्लाही : चुरे क्षेत्रमा बिरामी बोक्न झोलुङ्गोको भर

 भदौ २९, २०७८ मंगलबार ११:४०:४८ | रासस
unn.prixa.net

सर्लाही - चुरे क्षेत्रका स्थानीयवासीले बिरामी बोक्न अझै झोलुङ्गोको भर पर्नुपर्ने बाध्यता  छ । 

भौगोलिक रुपमा विकट चुरे क्षेत्रका बस्तीमा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको छ ।

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटक–पटक बनाएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ। वर्षा लागेपछि खोलाको बाटोसमेत बन्द भएपछि उनीहरूले अझै झोलुङ्गोमा बिरामी बोकेर अस्पताल ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन्।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या छ ।  याे क्षेत्रमा व्यवस्थित स्वास्थ्य संस्था नहुँदा त्यहाँका नागरिक सास्ती बेहाेर्न बाध्य भएका ईश्वरपुर नगरपालिका–१२ घारीबथानका वडाध्यक्ष नागेन्द्र पाख्रिनले बताउनुभयो । 

उहाँका अनुसार याे क्षेत्र भौगोलिक विकटताका कारण पछाडि परेको र अहिले बाटो निर्माण सुरुआत भएको छ । यस क्षेत्रका बिरामीलाई अस्पताल लैजान न त बाटो छ, न गाडी नै सञ्चालन भएका छन् । बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्स त परको कुरा, बाटोसमेत नहुँदा समस्या भएको छ ।

चिकित्सकसमेत यस क्षेत्रमा जान नमान्ने गरेका पाइएको लालबन्दी नगर स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो । गाउँवासी मिलेर बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता छ । गाउँमा कोही बिरामी परे झोलुङ्गोमा पालैपालो बोकेर पूर्व–पश्चिम लोकमार्ग छेउछाउमा भएका स्वास्थ्य संस्थामा पुर्याउन आफूहरु बाध्य भएको स्थानीयवासीले बताएका छन् ।

ईश्वरपुर नगरपालिकामा रहेकाे साविक कालीञ्जोर गाविसमा पर्ने पिपदमार, लामिदमार, फूलजोर शिर, छोड्के, गुइडुङलगायतका आधा दर्जन बढी बस्तीमा यस्तो समस्या छ । 

हिउँदयाममा जसोतसो बगरको बाटो हिँड्न सकिए पनि वर्षामा बाढीमा हेलिनुको विकल्प नरहेको स्थानीय चन्द्र वाइबाले बताउनुभयो । हरेक वर्ष करिब तीन/चार महिना बाढीमा हेलिएर पूर्वपश्चिम लोकमार्गमा रहेकाे लालबन्दी बजारसम्म ओहोरदोहोर गरिरहेका छन् । 

केहीले जोखिमपूर्ण यात्रा गर्दै खाद्यान्न ढुवानी गर्ने ट्र्याक्टरबाट समेत यात्रा गर्ने गरेको लालबन्दी–१४ का वडाध्यक्ष सुवाइसिंह ब्लोनले बताउनुभयो । उहाँका अनुसार यात्रा गर्दा बाढी आइहाले बीचबाटोमा अलपत्र पर्नुबाहेक अरु विकल्प यस क्षेत्रका नागरिकमा छैन ।

गएकाे असारदेखि नै खोलामा लगातार जसो बाढी आउँदा स्थानीयवासीलाई आउजाउ गर्न मुस्किल परेको उहाँले जानकारी दिनुभयो । 'सामान्य बिरामीको गाउँमै प्राथमिक उपचार हुने गरेको छ, तर गम्भीर बिरामीलाई भने पत्थरकोटको छेडासम्म बोकेरै लैजाने गरेका छौँ ।'

छेडासम्म पुग्न शिर कालीञ्जोरका स्थानीयवासीलाई पाँच घण्टा र तल्लो भेगका स्थानीयवासीलाई तीन घण्टासम्म लाग्ने उहाँको भनाइ छ । सडक सञ्जालले नजोडिएका कारण  यस क्षेत्रमा विकास निर्माणले समेत गति लिन नसकेको स्थानीयवासीको गुनासो छ ।

बिरामी बोकेर अस्पतालसम्म पुर्याउनकै लागि वडा कार्यालयले साविक नारायणखोला गाविसको नौवटा वडामा एक/एक थान र मोटरदोभानमा रहेको स्वास्थ्यचौकीलाई एक थान स्टेचर उपलब्ध गराएको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार बर्खायाममा लालबन्दी–१४ र १५ का स्थानीयवासीलाई आवतजावतमा समस्या हुने गरेको छ । लालबन्दी–१५ को शिर कालीञ्जोर, कोरेखोप, भित्रीखोला, बाहुनीडाँडालगायतका बस्तीमा पनि यस्तै समस्या रहेको लालबन्दी– १५ का वडाध्यक्ष गोरखबहादुर बलले बताउनुभयो। 

उहाँका अनुसार हिउँदमा खोलैखोला बगरको बाटो गाडी सञ्चालन भए पनि बर्खामा भने आफ्नै नगरपालिकासँग सम्पर्क टुट्ने गरेको छ । यस्तै हरिवन नगरपालिका–१ मा पर्ने बेलडाँडा, वनमारा, सखुवनी तथा बागमती नगरपालिका–१ मा रहेकाे डुमाजोर शिरका स्थानीयवासी पनि बर्खायाममा यातायात सेवाबाट वञ्चित हुनुपर्ने समस्या रहेको याे क्षेत्रका स्थानीयवासीले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया