अफगानिस्तानमा मानव अधिकार उलंघनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघ समक्ष माग

 भदौ ३०, २०७८ बुधबार ७:२२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानको विघटित सरकारका राजदूतले तालिबान समूहबाट भएको मानव अधिकार उल्लङ्घनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् समक्ष आग्रह गर्नुभएको छ । 

विघटित सरकारले राष्ट्रसंघका लागि नियुक्त गरेको अफगानिस्तानका स्थायी प्रतिनिधि नाशिर अहमद अन्दिशाले तालिबान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानविन गर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

गएको महिना तालिबानी समूहले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो । राजदूत अन्दिशाले जेनेभामा भएको राष्ट्रसंघको कार्यक्रममा तालिबान समूहबाट विशेष गरी महिला तथा बालिकाहरूमाथि दुर्व्यवहार भएको भन्दै ध्यानाकर्षण गराउनुभएको छ । यस्तै उहाँले पञ्जशिर उपत्यकामा पनि राष्ट्रसंघको टोली पुग्नुपर्नेमा जोड दिनुभएको छ । 

अफगानिस्तानमा तालिबान सरकार गठन भए पनि राजदूत अन्दिशालाई स्वदेश फिर्ता बोलाइएको छैन । 

यसअघि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख मिचेल बाचेलेट र युरोपेली युनियनले पनि राष्ट्रसंघको मानव अधिकार परिषद्लाई अफगानिस्तानमा भएको मानव अधिकार हनन्का घटनालाई लिपिवद्ध गर्न उच्च संयन्त्र बनाउन माग गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया