पृथ्वी परिक्रमा गर्न चार यात्री निजी यात्रामा निस्किए

 भदौ ३१, २०७८ बिहिबार १६:२०:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पृथ्वीको परिक्रमा गर्नका लागि चार यात्री निजी यात्रामा निस्किएका छन् । ‘इन्स्पिरेशन फोर’ नामक अभियानमा एक जना अर्बपति र तीन साधारण व्यक्ति सहभागी छन् । उनीहरू अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्ष यात्रामा निस्किएका बीबीसीले जनाएको छ । 

‘इन्स्पिरेशन फोर’ कार्यक्रममा अर्बपति ज्यारेड आइज्याकम्यान, हड्डीको क्यान्सर जित्न सफल भइ सेन्ट जुड चिल्ड्रेन रिसर्च अस्पतालमा काम गर्दैै आएकी हेली एर्सेनो, भूगर्भ वैज्ञानिक सायन प्रोक्टर र अमेरिकी एअर फोर्सबाट अवकाश प्राप्त क्रिश सम्ब्रोस्की रहेका खबरमा उल्लेख छ । 

चार जनाको समूहले तीन दिन पृथ्वीको परिक्रमा गर्नेछ । उनीहरूले यसअघि नै ‘स्पेसएक्स’ रकेट कम्पनीसँग ६ महिनाको तालिम लिएका थिए । 

यात्रामा रहेको समूहलाई पृथ्वीका दृश्य हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । अन्तरिक्ष पर्यटन बजारका लागि यो यात्रा कोशेढुङ्गा हुने मानिएको छ । 

आउँदो अक्टोबरमा एक जना रुसी चलचित्र निर्देशक र एक जना नायिकाले अन्तरिक्षको भ्रमण गर्दैछन् ।  

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया