अफगानिस्तानमा तालिबान सरकारले महिला मन्त्रालय हटायाे ​

 असोज २, २०७८ शनिबार १४:१६:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा तालिबानले महिला मन्त्रालय हटाएर त्यसको साटो कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय स्थापना गरेको छ ।

तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेको बीबीसीले जनाएको छ । सदाचार र दुष्कर्म मन्त्रालयले सन् १९९० को दशकताका तालिबान शासन अवधिमा कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलामाथि कडा प्रतिबन्धहरू लगाएको थियो ।

त्यति बेलाको जस्तै व्यवहार भोग्नुपर्ने महिलाहरूको चिन्ताका बीच तालिबानले उही नामको मन्त्रालय स्थापना गरेको हो । महिला कर्मचारी कार्यालयबाहिर आएर आफूहरूलाई काममा फर्काउन तालिबानसँग अनुरोध गरिरहेका भए पनि तालिबानले महिला कर्मचारीलाई काममा फर्कन अनुमति दिएको छैन ।

सदाचारको प्रवर्द्धन र दुष्कर्मको नियन्त्रण गर्ने लक्ष्य रहेको बताइएको मन्त्रालयले तालिबानको पहिलो शासनकालमा शरिया कानुन भनिने तालिबानले व्याख्या गर्दै आएको कठोर इस्लामिक कानुन कार्यान्वयनका लागि सडकमा कथित नैतिक प्रहरी परिचालन गर्नु थियो ।

महिलाहरूले प्राथमिक तहभन्दा माथि पढ्न नपाउने, सङ्गीत र नृत्यलगायतका मनोरञ्जनमा महिलालाई रोक, बुद्धिचाल खेल्न र चङ्गा उडाउन नपाइने नियम अफगानिस्तानमा फेरि फर्काउने तयारी भएकाे बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया