अफगानिस्तानमा एक महिनापछि विद्यालय खुल्याे तर छात्राहरू जान पाएनन्

 असोज २, २०७८ शनिबार १९:२६:२६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अफगानिस्तानमा एक महिनापछि विद्यालय खुले पनि छात्राहरू विद्यालय जान पाएका छैनन् । तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेपछि बन्द भएका विद्यालय आजदेखि खुलेका भए पनि छात्रा अध्ययन गर्ने विद्यालयहरू भने नखुलेका हुन् । 

तालिबानले विज्ञप्ति निकालेर आजदेखि माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्र अर्थात् बालकहरूलाई विद्यालय जान भनेको छ । तर विज्ञप्तिमा बालिका र महिला शिक्षकबारे केही उल्लेख नभएकाले उनीहरू विद्यालय जान नपाएका बीबीसीले जनाएको छ । 

पछिल्ला घटनाक्रमले तालिबानले छात्राहरूलाई विद्यालय जानबाट रोक्ने सम्भावना बढेको छ । अफगानिस्तानमा छात्र र छात्राका लागि छुट्टाछुट्टै विद्यालय भएकाले कुनै एकाथरी बन्द गर्न सजिलो छ । 

सन् १९९० को दशकमा तालिबान सत्तामा हुँदा अफगानिस्तानमा छात्राहरूलाई विद्यालय जान प्रतिबन्ध थियो । सन् २००१ मा तालिबानलाई सत्ताबाट हटाइएपछि अफगानिस्तानमा छात्राहरू विद्यालय जान थालेका हुन् । त्यसपछिको २० वर्षमा विद्यालय जाने महिलाको सङ्ख्या ३५ लाख पुगेको छ । तर फेरि दुई दशक अघिकै अवस्था आउने देखिएको छ ।

आजै तालिबान सरकारले महिला मन्त्रालय हटाएर कडा धार्मिक मान्यताहरू लागू गर्ने पुरानो निकाय स्थापना गरेको छ । तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेको बीबीसीले जनाएको छ । 

सदाचार र दुष्कर्म मन्त्रालयले सन् १९९० को दशकताका तालिबान शासन अवधिमा कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलाहरूमाथि कडा प्रतिबन्ध लगाएको थियो । 

अन्तिम अपडेट: असोज ८, २०७८

तपाईको प्रतिक्रिया