पूर्ण मात्रा खोप लगाएकाका लागि अमेरिका जान हवाई यात्रा खुकुलो

 असोज ५, २०७८ मंगलबार १०:३८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले बेलायत, ईयू र अरु देशका मानिसलाई प्रवेश गर्न पाउने गरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । नोभेम्बरदेखि पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेपछि अमेरिका जान पाउनेछन् ।

अमेरिकामा गएको वर्ष सुरुबाटै यात्रासम्बन्धी कडा प्रतिबन्ध कायम छन् । गएको हप्ता ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो । तर नयाँ नियम घोषणा गरी ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले अमेरिका प्रवेश गर्नेहरुका लागि पूर्णमात्रा खोप लगाएको हुनुपर्ने बताउनुभयो ।

अहिलेको नियम अनुसार पछिल्लो १४ दिनभित्र बेलायत, युरोपेली देशहरू, चीन, भारत, दक्षिण अफ्रिका, इरान र ब्राजिल पुगेका गैर अमेरिकी नागरिकलाई अमेरिका जान रोकिएको थियो । नयाँ नियम अनुसार परीक्षण नेगेटिभ आएको र सम्पर्क विवरण देखाउनुपर्नेछ तर क्वरेण्टीन बस्नुपर्ने छैन ।

नयाँ नियममा अमेरिकाले स्वीकृति दिएका मात्र वा सबै खोपहरूमा लागू हुने हो भन्ने स्पष्ट भइनसकेको बीबीसीले जनाएको छ ।अस्ट्राजेनेका खोप अमेरिकामा स्वीकृत भएको छैन । ह्वाइटहाउसका कोभिड संयोजक जिन्ट्सले त्यसबारे अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोलले निर्णय लिने बताउनुभएको छ ।

क्यानाडा र मेक्सिकोको जमिनबाट अमेरिका प्रवेश गर्नेहरूका हकमा नयाँ नियम लागू हुने छैन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया