मन्त्रीका कारण शेयर बजार घटबढ हुँदैन : जनार्दन शर्मा

 असोज ५, २०७८ मंगलबार १७:९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले शेयर कारोबारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज मङ्गलवार अर्थ मन्त्रालयमा नेपाल धिताेपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन बुझ्दै अर्थ मन्त्री शर्माले शेयर कारोबारमा ठूलो सङ्ख्यामा नागरिक सहभागी भइरहेको भन्दै शेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो ।

उहाँले मन्त्रीका कारणले शेयर बजार घटबढ नहुने बताउनुभएको छ । शेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकाले मन्त्रीका कारणले शेयर बजार घटबढ हुने कुरा नभएको अर्थ मन्त्री शर्माले बताउनुभयो ।     

कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थ मन्त्री जनार्दन शर्मासमक्ष बुझाउनुभएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी–नोक्सानी पु¥याइ बोर्डको हित र पुँजी बजारको विकास विपरीत हुने गरी पदीय आचरण विपरीत काम गरेको भन्ने सम्बन्धमा जाँच गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गएको भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको थियो ।  

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली २०६४ को नियम ११ अनुसार गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताउनुभयो । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्रसम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताको हित रक्षामा सहयोगी हुने धारणा उहाँले राख्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया