राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्क अगाडि महिलाहरुको प्रदर्शन

 असोज १२, २०७८ मंगलबार ७:१८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् ।

अफगानिस्तानमा तालिबान समूहले महिलाका अधिकार कटौती गरेको विरोधमा उनीहरुले अमेरिकाको न्युयोर्कमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका महिलाहरुले अफगानिस्तानमा महिला अधिकार तथा मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका समाचार संस्था एएनआईले जनाएको छ ।

साथै मानव अधिकारको रक्षा गर्न राष्ट्रसङ्घलगायत विश्वको ध्यान जानुपर्नेमा पनि उनीहरुको जोड छ । तालिबानले सत्ता कब्जा गरी सरकार बनाएपछि अफगानिस्तानमा महिलालाई रोजगारी गर्न नदिने, सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिने, पढ्ने बेलामा छुट्टै कक्षामा बस्नु पर्नेलगायतका नियम लागू गरेको छ ।

यसको विश्वभरबाट विरोध हुँदै आएको छ । अफगानिस्तानका उच्च शिक्षामन्त्री अब्दुल हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलालाई अनिवार्य नकाब लगाउन निर्देशन दिनुभएको छ ।

नयाँ व्यवस्थाअनुसार केही अफगान महिलाले आफ्नो शिर र आँखासमेत ढाक्ने चदरी भनिने नीलो कपडा लगाउन सुरु गरिसकेका छन् ।   

अन्तिम अपडेट: असोज १४, २०७८

तपाईको प्रतिक्रिया