पञ्जाबमा आम आदमीले जिते स्वास्थ्य सेवा निःशुल्क गर्ने केजरीवालको प्रतिबद्धता

 असोज १४, २०७८ बिहिबार २०:२६:१८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पञ्जाब प्रदेशमा आफ्नो पार्टीले जिते स्वास्थ्य सेवा निःशुल्क गर्ने घोषणा गर्नुभएको छ ।  

दिल्लीका मुख्यमन्त्रीसमेत रहनुभएका केजरीवालले पञ्जाबमा पनि आफ्नो पार्टीको सरकार बनाउने गरी आफ्ना उम्मेदवारहरूलाई जिताउन आग्रह गर्नुभएको छ । 

पञ्जाबमा हुन लागेको विधान सभाको चुनावका लागि लुधियानामा आज बिहीवार भएको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीलाई जिताउनुस्, यस प्रदेशमा बस्ने सबै बासिन्दालाई स्वास्थ्य सेवा निःशुल्क गर्नेछौँ ।’

पञ्जाबमा स्वास्थ्य सेवा राम्रो नभएको टिप्पणी गर्दै उहाँले त्यसको सुधार आम आदमी पार्टीको सरकारले गर्ने दाबीसमेत गर्नुभयो । 

सरकारी स्वास्थ्य संस्थाहरूमा सेवा राम्रो नहुँदा नीजि स्वास्थ्य संस्थाहरूले आम नागरिकलाई नराम्रोसँग ठगेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री केजरीवालले भन्नुभयो, ‘सात वर्ष अगाडि दिल्लीमा पनि यस्तै नराम्रो अवस्था थियो, तर अहिले हाम्रो सरकार आएपछि सरकारी स्वास्थ्य सेवामा धेरै सुधार भएको छ ।’

‘म प्रतिबद्धता गर्दछु कि पञ्जाबमा पनि हाम्रो सरकार बनाउने अवसर पाएमा त्यस्तै बनाउने छौँ’, उहाँले भन्नुभयो ।  

उहाँले पञ्जाबका नागरिकलाई स्वास्थ्य परीक्षण, औषधि, उपचार, शल्यक्रिया लगायत ६ प्रकारका सेवा निःशुल्क गराउने दाबी गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया