न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला

 असोज १५, २०७८ शुक्रबार १२:८:४७ | रासस
unn.prixa.net

काठमाण्डाै - न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासनमा ल्याएको हो ।

कम्पनीले निष्कासन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ्ग समयदेखि आवेदन दिन पाउनेछन् ।

निष्कासन गरेका शेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । याे अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले अहिले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कुल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित  २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सीआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा रेडिङ गर्नुपर्ने प्रावधानअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको अहिलेकाे अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ५० करोड रुपैयाँको प्रतिशेयर १०० अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्कासनका निमित्त छुट्याएको थियो ।

आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको १०० रुपैयाँ अङ्कित मूल्यका १५ लाख कित्ता शेयर र संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता शेयर गरी १८ लाख कित्ता शेयर यही भदौ १ गतेदेखि निष्कासन खुला गरिएको र त्यसको बाँडफाँट समेत भइसकेको छ ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया