प्यान्डोरा पेपर्स :  गैरकानुनी सम्पत्ति राख्नेमा विश्वका नेता तथा पूर्व राष्ट्रपति र राजनेताहरु पनि

 असोज १८, २०७८ सोमबार ७:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्यान्डोरा पेपर्सले विश्वका प्रतिष्ठित नेता, राजनेता तथा अर्बपतिहरुको गोप्य धन र कारोबारबारे खुलासा गरेको छ । अफशोर कम्पनी (नाममात्रका कम्पनी) स्थापना गरेर लगानी तथा शेयर खरिद–बिक्री गरेको खुलासा भएको हो । 

गैरकानुनी रुपमा आर्जन गरेको रकम लुकाउनका लागि उनीहरुले करछलीका लागि सहज मानिने ट्याक्स हेभनमा अफशोर कम्पनी खोलेर लगानी गरेको खुलासा भएको प्यान्डोरा पेपर्समा उल्लेख छ । यसमा ३५ जना वर्तमान अवस्थामा कार्यकारी भूमिकामा रहेका व्यक्ति छन् भने पूर्व नेता तथा ३ सयभन्दा धेरै सार्वजनिक पदाधिकारीहरुको नाम समेटिएको छ ।  

उनीहरुको कर छल्ने हिसाबले देश बाहिर स्थापना गरिएका अफशोर कम्पनीहरुका फाइल भेटिएको बीबीसीले जनाएको छ । ती कागजपत्रले जोर्डनका राजाले बेलायत र अमेरिकाका सम्पत्तिबाट ७० मिलियन पाउण्ड गोप्य रुपमा जम्मा गरेको देखाएको छ । 

यस्तै, बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र उहाँकी श्रीमतीले लण्डनमा रहेको कार्यालय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउण्ड जोगिएको खबरमा उल्लेख गरिएको छ । यस्तै, प्यान्डोरा पेपर्सले मोनाकोमा रहेको गोप्य सम्पत्तिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध रहेको देखाएको छ । 

यस्तै, युक्रेन, केन्या, इक्वेडरका राष्ट्रपति, चेक गणतन्त्रका प्रधानमन्त्री तथा अमेरिका, रुस, टर्की लगायतका देशका अर्बपतिको पनि गोप्य आर्थिक कारोबार रहेको खुलासा गरिएको छ । 

अमेरिकाको वासिङ्टन डीसीमा रहेको अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र, इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट आईसीआइजेसहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा प्यान्डोरा पेपर्स सार्वजनिक भएको हो ।

पछिल्लो पटक सार्वजनिक भएको वित्त गतिविधि सम्बन्धी गोप्य कागजातहरु, जस्लाई प्यान्डोरा पेपर्स नाम दिइएको छ । पछिल्लो सात वर्षमा गोप्य कागजातहरु सार्वजनिक हुने क्रम जारी रहेको छ र प्यान्डोरा पेपर्स त्यसकै निरन्तरता हो ।

 यसअघि फिनसेन फाइल्स, द प्याराडाइज पेपर्स, द पानामा पेपर्स र लक्सलिक्स सार्वजनिक भएका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया