भुटानको जेलमा रहेका राजनीतिक बन्दीलाई सुरक्षा दिन माग, रिहाइका लागि भुटानका राजासँग अपिल

 असोज १८, २०७८ सोमबार १३:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भुटानको चेमगाङ केन्द्रीय जेलमा आजीवन कैद सजाय भोगिरहेका राजनीतिक बन्दीहरुको अवस्थालाई लिएर ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) ले गम्भीर चासो व्यक्त गरेको छ ।

जेलमा उत्पन्न भएको तनाव र त्यसपछिको अवस्थामा त्यहाँ रहेका ३५ जनाभन्दा धेरै राजनीतिक बन्दीको सुरक्षा जोखिममा परेको भन्दै जीसीआरपीपीबीले चासो व्यक्त गरेको हो । जीसीआरपीपीबीले प्रेस विज्ञप्ति निकालेर जेलमा भएको घटनाप्रति आफ्ना ध्यानाकर्षण भएको जनाएको छ ।

गएको शनिवार प्रहरीबाट ज्यादती र यातना दिइएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको भिडियो फेसबुक लगायत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उनीहरुले ‘हामीलाई न्याय चाहियो’ लगायतका नारा लगाएका थिए । प्रहरी अधिकारीले क्रुर एवं अन्यायपूर्ण व्यवहार गरेको भन्दै उनीहरुले नारा लगाएको भिडियोमा देखिएको जीसीआरपीपीबीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक बन्दीहरु रहेको जेलमा यस्तो खालको नाराबाजी हुनुले अवस्था सामान्य नरहेको र बन्दीलाई यातना दिइएको देखिने भन्दै जीसीआरपीपीबीले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ । जेलमा रहेका राजनीतिक कैदीबन्दी असुरक्षित रहेकाले उनीहरुको सुरक्षाका लागि भुटान सरकार, अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकारवादी संस्थाहरुले ध्यान दिनु पर्नेमा जीसीआरपीपीबीका संयोजक राम कार्कीले जोड दिनु भएको छ ।

उहाँले यो जेलको वर्तमान अवस्थाबारे भुटान सरकारले विज्ञप्ति निकाल्नु पर्ने र कैदीबन्दीको माग पूरा गर्नेतर्फ ध्यान दिनु पर्ने बताउनु भएको छ । यस्तै, उहाँले सबै राजनीतिक कैदीलाई माफी दिएर बाँकी जीवन आफन्त तथा परिवारका साथमा मनाउने अनुमति दिन पनि आग्रह गर्नु भएको छ ।

यसअघि पनि उहाँको अगुवाइमा राजनीतिक कैदीको रिहाइका लागि भुटानका राजासँग अपिल गरिएको थियो । सन् १९९० को सेप्टेम्बरमा अन्याय र भेदभावपूर्ण व्यवहारको अन्त्यको माग गर्दै भुटानमा भएको शान्तिपूर्ण आन्दोलनमा केही नेपाली भाषीको ज्यान गएको थियो भने धेरै विस्थापित भएका थिए । यस्तै कतिपय बेपत्ता भएका थिए । आन्दोलनका क्रममा प्रहरीले धरपकड गरी पक्राउ गरेका धेरैजसो अहिले पनि जेलमा नै छन् ।

जलमा रहेका उनीहरुको रिहाइका लागि ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) ले अपिल गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया