फ्रान्सका चर्चहरूमा दुई लाखभन्दा धेरै बालबालिकामाथि यौन दुर्व्यवहार भएको तथ्य सार्वजनिक

 असोज २०, २०७८ बुधबार ७:०:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – फ्रान्सका चर्चहरूमा दुई लाखभन्दा धेरै बालबालिकामाथि यौन दुर्व्यवहार भएको तथ्य सार्वजनिक भएको छ । फ्रान्समा क्याथोलिक पादरीहरूले पछिल्लो ७० वर्षमा झन्डै दुई लाख १६ हजार बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलेको हो ।

एक स्वतन्त्र अनुसन्धानले सन् १९५० यता पादरीहरूबाट बालबालिका यौन दुर्व्यवहारमा परेको तथ्य सार्वजनिक गरेको हो । चर्चका सामान्य सदस्यहरूले गरेको दुर्व्यवहारका घटना विवरणलाई समेत जोड्ने हो भने यो सङ्ख्या तीन लाख ३० हजारसम्म पुग्ने अध्ययनको दाबी छ ।

प्रतिवेदनअनुसार किशोर समूहभन्दा बालबालिका बढी पीडित छन् । अनुसन्धान प्रमुख जीन मार्क सौभाले यो तथ्याङ्क निकै डरलाग्दो रहेको बताउनुभएको छ । फ्रेन्च चर्चहरूले पनि अनुसन्धानको निष्कर्ष लज्जास्पद रहेको भन्दै दुर्व्यवहारका लागि माफी मागेका बीबीसीले जनाएको छ ।

आयोगका अध्यक्षले भन्नुभयो, ‘यसको परिणाम निकै गम्भीर छ । यौन उत्पीडित भएका झन्डै ६० प्रतिशत बालक र बालिकाको जीवनमा भावनात्मक र अन्य जटिल अवस्थाको सामना गर्नुपरेको छ ।’ 

प्रहरी, चर्चको अभिलेख, पीडितहरू र साक्षीहरूसँगको झन्डै दुई वर्षको सोधपुछपछि तयार पारिएको प्रतिवेदन दुई हजार पाँच सय पेज लामो छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया