फेसबुकले बालबालिकालाई हानि पुर्‍याउँछ र प्रजातन्त्रलाई कमजाेर पार्छ : पूर्वकर्मचारी

 असोज २०, २०७८ बुधबार ९:२९:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – फेसबुककी एक पूर्वकर्मचारीले ती प्रविधि कम्पनीका वेबसाइट र एपले बालबालिकालाई हानि पुर्‍याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने बताएकी छिन् । 

फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले अमेरिकी विधायकहरूसँग यस्तो बताएकी हुन् । उनले कम्पनीका गोप्य कुराहरू बताएकी थिइन् । 

कम्पनीका वरिष्ठ कर्मचारीहरू मुनाफामा केन्द्रित भएको भन्दै हाउगनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत आलोचनात्मक बयान दिएकी थिइन् । 

अहिले फेसबुकलाई नियमन गर्नुपर्ने माग उठिरहेकाे छ । इन्स्टाग्रामकाे तर्फबाट गरिएकाे एक अध्ययनले यी एपले बालिकाकाे मानसिक स्वास्थ्यमा हानि पुर्‍याउन सक्ने बताएकाे छ । 

फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने पूर्वकर्मचारी हाउगनको भनाइप्रति असहमति जनाउँदै त्यस्तो बयानले कम्पनीको झुटो तस्बिर चित्रित गरेको बताएका छन् ।

कर्मचारीलाई लेखिएको एक पत्रमा उनले ती दाबीको कुनै अर्थ नभएको बताएका छन् । फेसबुकलाई हानिकारक सामग्रीसँग लड्न, पारदर्शिता स्थापित गर्न एक अनुसन्धान कार्यक्रममा जोड दिनुपर्ने औल्याइएको थियो ।

मासिक झन्डै तीन अर्ब सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो । त्यस्तै करोडौँ प्रयोगकर्ता यही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँदै आएका छन् ।

तर फेसबुकले प्रयोगकर्ताका गोपनीयताको संरक्षण गर्न, गलत सूचना रोक्न चाहिँदो काम नगरेको भन्दै आलोचना हुने गरेको छ ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया