मलेरियाविरुद्धको अभियानमा ऐतिहासिक सफलता, अफ्रिकी देशका बालबालिकाले खोप पाउने

 असोज २१, २०७८ बिहिबार ११:१२:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफ्रिकी देशहरुमा मलेरिया विरुद्धको खोपले स्विकृति पाएको छ ।  धेरै वर्षको प्रयासपछि तयार पारिएको यो खोपको स्वीकृतिसँगै अफ्रिकी देशका बालबालिकाले घातक रोग मलेरियाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

खोपले स्वीकृति पाउनुलाई घातक मलेरियाविरुद्धको अभियानका लागि ऐतिहासिक सफलता मानिएको छ । मलेरियाका कारण विशेष गरी बालबालिका तथा शिशुहरुको ज्यान जाने गरेको छ । धेरै वर्षको प्रयासपछि मलेरियाविरुद्धको खोप तयार भएको हो । यो औषधि विज्ञानमा विश्वकै ठूलो उपलब्धिमध्येमा पर्छ । आरटीएस, एस नाम गरेको खोप ६ वर्ष पहिले नै प्रभावकारी प्रमाणित भएको थियो ।

घाना, केन्या र मालवीमा ‘पाइलट’ खोप अभियानपछि विश्व स्वास्थ्य संगठनले मलेरियाविरुद्धको खोपलाई स्वीकृति प्रदान गरेको हो । डब्लूएचओले खोप सब–सहारा अफ्रिकी क्षेत्रसँगै मलेरियाको संक्रमणदर उच्चदेखि मध्यम रहेको अरु क्षेत्रमा पनि खोप लगाउन भनेको हो ।

डब्लूएचओका प्रमुख डाक्टर टेडरोज एड्रोनोम गेब्रेयेसोसले मलेरियाविरुद्धको खोप प्रभावकारी भइ स्वीकृत हुनु ऐतिहासिक क्षण रहेको बताउनु भएको छ । संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने मलेरियाले रक्तकोषलाई नोक्सानी गरी व्यक्तिको ज्यानै जान सक्छ । खोपले मलेरिया परजीवीलाई मार्ने छ । अहिलेसम्म लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने तथा मार्नका लागि विषादी प्रयोग गर्नेसहितका उपाय अपनाइएको छ ।

मलेरियाका कारण सबैभन्दा धेरै अफ्रिकामा मानवीय क्षति हुने गरेको छ । सन् २०१९ मा मलेरियाका कारण अफ्रिकामा दुई लाख ६० हजारभन्दा धेरै बालबालिकाको ज्यान गएको थियो । विश्वमा हरेक वर्ष २२ करोड ९० लाख मलेरिया संक्रमित हुने गरेका छन् । त्यसमध्ये ९४ प्रतिशत संक्रमित अफ्रिकाका हुने देखिएको छ । विश्वभर मलेरियाका कारण प्रतिवर्ष चार लाख ९ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । खोपले १० मध्ये चार जनामा मलेरियाको संक्रमण रोक्न सक्ने र १० मध्ये तीनजनामा गम्भीर खालको संक्रमण रोक्ने देखिएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया