आउँदाे कात्तिक ४ देखि सामलिङ्ग पावर कम्पनीले आईपीओ बिक्री खुला गर्ने

 असोज २२, २०७८ शुक्रबार २०:३३:२५ | रासस
unn.prixa.net

काठमाण्डाै – सामलिङ्ग पावर कम्पनी लिमिटेडले आउँदाे कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रति–कित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता आईपीओको बिक्री खुला गर्ने लागेको हो ।

निष्कासन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र दुई प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६ लाख ७८ हजार नाै सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आउँदाे कात्तिक ४ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।

कम्पनीको विवरण पत्रअनुसार सर्वसाधारणले कात्तिक ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । याे अवधिसम्म माग गरिएअनुसार आवेदन नआए कात्तिक १८ गतेसम्म निष्कासन खुला हुने विवरण पत्रमा उल्लेख छ ।

कम्पनीले अहिले इलामकाे इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माई खोलामा नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत दुई अर्ब हुने र प्रति–मेगावाट लागत २१ करोड तीन लाख पाँच हजार रुपैयाँ हुने जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । 

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आईआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको अहिलेकाे अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया