लद्दाख सीमा विवाद : भारतले भन्यो– चीन तयार छैन, चीनले भन्यो– भारतकाे माग अनुचित छ

 असोज २५, २०७८ सोमबार १४:२१:३६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारत र चीनबीच पूर्वी लद्दाखमा एलएसी अर्थात् वास्तविक नियन्त्रण रेखामा रहेको सीमा विवाद समाधान गर्न हिजाे आइतवार भएको भएको १३ औँ चरणको वरिष्ठ सैन्य कमान्डरको स्तरको वार्ता पनि निष्कर्षविहीन भएको छ । 

चीन एलएसीमा यथास्थिति बहाल गर्न तयार नभएको भारतले बताएको छ । अहिले पूर्वी लद्दाखमा एलएसीमा दुई देशबीच हट स्प्रिङ्स, डेपसाङ्ग बल्ज र चार्डिङ्ग नुल्लाह जन्क्शनलाई लिएर विवाद छ । 

यो वार्तापछि दुई देशका सेनाको तर्फबाट विज्ञप्ति जारी गरिएको छ । भारतले स्थितिको गलत आकलन गर्नुको साटो वार्तालाई लक्ष्यसम्म पुर्याउनुपर्ने बताएको छ । भारतीय सेनाले भने चीनसँच रचनात्मक सल्लाह राखिएको तर ऊ मान्नका लागि तयार नभएको बताएको छ । 

भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ– चिनियाँ पक्षसँग भारतले विवाद समाधानका लागि रचनात्मक सल्लाह दियो तर चीन सहमत भएन । चीनले भने भारतले पूरै मामिलामा अनुचित र अवास्तविक माग राखेको विज्ञप्तिमा जनाएको छ । 

भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द रनवणेले गएको हप्ता चीनले एलएसी नजिक ठूला पूर्वाधारहरू बनाइरहेको र त्यहाँका सेना दोस्रो हिउँदमा पनि पछि नहट्ने सोचिरहेको आफूलाई लागिरहेको बताउनुभएको थियो । जनरल नरवणेले यदि चीन पछि नहटे भारत पनि पछि नहट्ने बताउनुभएको थियो । 

चीनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भारतले अनुचित र अवास्तविक माग उठाइरहेको र अवस्था झन् कठिन बनिरहेको देखिएको उल्लेख छ । चीनले भारतलाई कुनै पनि परिस्थितिको गलत आकलन नगर्न भनेको छ । 

चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) वेस्टर्न थिएटर कमान्डका प्रवक्ता सिनियर कर्णेल लङ्ग शाहोआका अनुसार दुई देशबीचको यो वार्ता मोल्दो–चुशूल मिटिङ प्वाइन्टमा चिनियाँ क्षेत्रमा भएको हो ।  

यस बैठकपछि एक विज्ञप्तिमा सिनियर कर्णेल लङ्गले चीनले सीमामा देखिएको समस्या समाधान गर्न र अहिलेको अवस्था साम्य गर्नका लागि धेरै प्रयास गरेको र दुई सेनाबीच सम्बन्ध बनाइराख्नका लागि आफ्नो पूरै इमानदारी देखाएको उल्लेख छ । 

उहाँले भारतलाई दुई सेनाबीच भएको सम्झौता र सहमति पालना गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले भारतले इमानदारी देखाउने र विवादित क्षेत्रमा शान्ति, स्थिरताका लागि चीनसँग मिलेर काम गर्ने बताउनुभयो । 

भारत–चीन तनाव 

भारत र चीनबीच सीमामा गएको वर्ष गम्भीर स्थिति उत्पन्न भएको थियो । 

सन् २०२० मे १ मा दुई देशको सेनाबीच पूर्वी लद्दाखको पेंगोंग त्सो तालको नर्थ बैंकमा झडप भएको थियो । यो झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका थिए । 

त्यसपछि जुन १५ मा गलवान उपत्यकामा एक पटक फेरि दुई देशका सैनिक बीच झडप भयो । यो झडपमा दुवैतर्फका केही सैनिकको ज्यान पनि गएको थियो । 

गलवान उपत्यकामा भएको झडपपछि दुवै देशका प्रतिनिधिबीच विभिन्न चरणको वार्ता भयो । अन्ततः यस वर्षको फेब्रअरीमा दुई देशका विदेश मन्त्रीको बैठकमा भएको सहमतिपछि यस वर्षको फेब्रुअरीमा सीमा क्षेत्रबाट पछि हट्ने प्रक्रिया पनि सुरु भएको थियो । 

अहिलेसम्म दुई देशबीच १३ औँ चरणको सैन्य वार्ता भइसकेको छ तर कुनै निष्कर्ष निस्किएको छैन ।  

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया