मिथिलाका शक्ति पीठहरूमा 'खोँइछ' भर्ने, प्रसाद चढाउनेको भिड

 असोज २७, २०७८ बुधबार १७:५६:१४ | रासस
unn.prixa.net

धनुषा – जनकपुरधामको शक्ति पीठहरूमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भिड लागेको छ । 

राजा जनकको कुलदेवीका रूपमा चिनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयामा रहेकाे राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरूमा आज बुधवार बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भिड लागेको हो । 

सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानीहरू खोँइछ भर्ने गर्दछन् । मिथिलामा माता दुर्गाको ‘खोँइछ’ भर्ने विधि निकै पौराणिक हो । सप्तमीको बेलुकीदेखि नै मिथिलानीहरूले ‘खोँइछ’ भर्ने गर्दछन् । यस वर्ष तिथिको हेरफेरले गर्दा सप्तमी, अष्टमी र कतिपयले अष्टमीको राति १२ बजेपछि ‘खोँइछ’ भर्ने पण्डितहरू बताउँछन् । 

मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोँइछ’ दिने गरिन्छ । ‘खोँइछ’ मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दुर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ । ‘खोँइछ’ भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुख,शान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानीहरू दुर्गामाताको खोँइछ भर्ने गर्दछन् ।  

खोँइछ भर्नका लागि हजारौँको सङ्ख्यामा महिलाहरू राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोकलगायतका पुगेका छन् ।

त्यस्तै प्रसाद चढाउनका लागि हिजाे मङ्गलवार राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरूको भिड लाग्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया