१०३ घर परिवारलाई एउटा मात्रै धारो, एक गाग्री पानी भर्न घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता

 असोज २८, २०७८ बिहिबार १२:३२:४९ | रासस
unn.prixa.net

म्याग्दी - म्याग्दीको बेनी नगरपालिकामा एक सय तीन दलित परिवारले एउटै धाराको प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ । 

जिल्लाको बेनी नगरपालिका-५ मा रहेकाे यस गाउँमा १०३ दलित परिवारको बसोबास छ । ती परिवारका चारसय भन्दा बढी सदस्यले गाउँका बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौँ बितिसकेको छ ।

यस गाउँमा दलितको मात्रै बस्ती रहेको छ । बिहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुने गरेको बताइएको छ । अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीहरूलाई सास्ती हुने गरेको ६८ वर्षीया कालिका दर्जीले गुनासो गर्नुभयो। 'बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्छ' धारामा पानी भर्न आउनुभएका उहाँले भन्नुभयो, '११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ, त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ ।'

उहाँको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन् । एक गाग्री पानी भर्नको लागि एक घण्टा नै लाइनमा बस्नु पर्ने बाध्यता भएको स्थानीय महिला पार्वती दर्जीले गुनासो गर्नुभयो । 'घरको अरु काम गर्नै भ्याइँदैन, बिहान धारामै बित्छ, काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीहरूलाई खाना पकाएर खुवाउन ढिला हुन्छ, अनि गाली आफूले खानुपर्छ' उहाँले भन्नुभयो 'अरु गाउँका घरघरमा धारा छन्, हाम्रो गाउँमा गाउँभरिकै मान्छेका लागि जम्मा एउटा धारो छ।'

यस गाउँमा पानीकै कारण झगडा समेत हुने गरेको पुलाचौरका बुद्धिजीवी शिव बानियाँले जानकारी दिनुभयो । 'एउटा मात्रै धारो,१०३ घर परिवार, पानी भर्नका लागि घण्टाैँ लाइन लाग्नुपर्ने, झगडा हुने, मेरो पालो भन्दै एक जना अघि बढे पछि अर्को पछि हट्ने कुरै भएन, सबैलाई छिटो पानी भरेर घरको काम सक्ने हतारो हुन्छ ।  यहाँ पानीकै कारण दैनिक झगडा समेत हुने गरेको छ' उहाँले भन्नुभयो ।

बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा यामबहादुर दर्जीले बताउनुभयो ।

'हामी जहिल्यै पनि राजनीतिक दलहरुका लागि भोट बैंकको रुपमा प्रयोग भयौँ, दलित भएकै कारण सबै राजनीतिक दलहरुबाट हेपिँदै आएका छौँ, अहिलेसम्म चुनावको बेला आश्वासन बाहेक अरु केही पाउन सकेनौँ' उहाँले भन्नुभयो 'चुनाव सकियो भने यो गाउँमा नेताहरुले नाकमुखै देखाउँदैनन् ।'

म्याग्दीमा रहेका राजनीतिक दलहरुले मात्रै होइन पालिकाका जनप्रतिनिधिहरुले समेत यस गाउँलाई बेवास्ता गर्ने गरेको उनीहरुको आरोप रहेको छ । 'हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावको बेला बाहेक अरु समयमा हामीलाई फर्केर पनि हेर्दैनन्,खानेपानी र मोटरबाटोको मर्मतका लागि कति पटक यहाँका जनप्रतिनिधिलाई भन्यौँ तर सुनेको नसुन्यै गरे' स्थानीय बासिन्दा लालबहादुर परियारले भन्नुभयो । बेनी नगरपालिकाले खानेपानी समस्या समाधान गर्न उच्च प्राथमिकता दिएको जनाएको छ ।  

वडा-५ का वडाध्यक्ष लक्ष्मण बानियाँले भन्नुभयो,'पुरण्यमा खानेपानीको समस्या छ, तर खानेपानीको स्रोतका अभावमा त्यो समस्यालाई सम्बोधन गर्न सकिएको छैन उहाँहरुलाई बेवास्ता गरेको भन्ने कुरै आउँदैन,श्रोतको खोजी भइरहेको छ, केही समय पछि उहाँको समस्या समाधानका लागि प्रयास सुरु हुने छ।'

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया