निजी एअरलाइन्सलाई दशैँ व्यापार भ्याइनभ्याइ, निगमका जहाज 'घाम ताप्दै'

 असोज २८, २०७८ बिहिबार १७:१२:२२ | रासस
unn.prixa.net

काठमाण्डाै – हवाई सेवा प्रदायक कम्पनीका लागि दशैँ बिजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायु सेवा प्रदायकलाई दशैँकाे व्यापार भ्याइनभ्याइ भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ । अथवा भनौँ आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । किनकि निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने र निजीले व्यापार गर्ने मात्रै भएको देखिन्छ । 

यो अवस्थालाई चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गर्नुभएको थियो । यही असोज २२ गते सिंहदरबारमा मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आले भन्दै हुनुहुन्थ्यो, ‘वायु सेवा निगमका जहाज घाममा सुकिरहेका छन् । जहाज घाममा सुकाएर त पैसा आउँदैन । नागरिकले निजी एअरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एअरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरुरी छ ।’

पर्यटन मन्त्री आलेले देशका पहाडी सबैजसो जिल्लामा १० देखि १५ करोड रुपैयाँ खर्चेर विमानस्थल बनेका भए पनि साना ट्विनअटर र एटीचार जहाजको अभावले सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रित हुने बताउनुभएको थियो ।

पर्यटन मन्त्रीले भनेजस्तै अहिले आन्तरिक उडानमा आम्दानी गर्ने महत्त्वपूर्ण अवसर पनि हो । पदयात्रा र पर्यटनका लागि उपयुक्त मौसमका साथै दशैँ, तिहार र छठजस्ता पर्वले आन्तरिक उडानमा यात्रु भरिभराउ छन् । एअरलाइन्सको व्यापार बढेको छ । दशैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ । अहिले सर्वसाधारणले सामान्य हिसाबले सिट पाउनै मुस्किल छ । सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउँछन् । आन्तरिक हवाई यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायु सेवा निगम निरीह बनेको छ । निजीले व्यापार ओगट्ने निगम रमिते जस्तो मात्रै बनेको छ ।

विडम्बना नै मान्नुपर्छ वायु सेवा निगमसँग अहिले मात्र १८ सिट क्षमताका दुई थान जहाज छन् । ती पनि बेला–बेला बिग्रिरहन्छन् । निगमसँग भएका दुई साना र चार थान वाई १२ जहाज बिक्रीको प्रक्रियामा छ । ती जहाज विमानस्थलमै थन्किएका छन् । निगमले काठमाण्डाै बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामीडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमीकोट, बाजुरा, हुम्लालगायत जिल्लामा उडान गर्ने गरेको छ । उसै पनि निगमको हवाई टिकटका लागि माग बढ्दो थियो झनै दशैँको समयमा टिकट पाउन मुस्किल छ । जहाजको अभाव र यात्रुको माग बढेपछि निगमलाई हैरानी छ । निगमका जहाज चढ्न सर्वसाधारणले सक्दैनन्, मन्त्री, सांसद प्रहरीका ठूला मानिसले भनेपछि मात्रै टिकट मिल्ने एक सर्वसाधारणले गुनासो पोखे । 

निगमको टिकटका लागि निगमका उच्च अधिकारीलाई माथिल्लो स्तरबाट ठूलै दबाब खेप्नुपरेको छ । निगमका एक उच्च अधिकारीका अनुसार दशैँमा सर्वसाधारणले टिकट पाउँदैनन्, पावरवालाले सोर्सफोर्स गरेर मात्रै जहाज चढ्ने अवसर पाउँछन् । हुन पनि पूर्वी पहाडी भेगका गन्तव्यमा पुग्ने एक दर्जनभन्दा बढी यात्रुले टिकटका लागि भोगेको याचनाको पीडा कम दर्दनाक छैन । निगमले जहाज नभएरै यात्रुको माग सम्बोधन गर्न नसकेको हो । ‘आन्तरिक उडानमा हवाई यात्रुको माग बढी छ, त्यहीअनुसार बजार विस्तार गर्न सकिएको छैन किनकि निगमसँग जहाजै छैन’, निगमका एक निर्देशकले भने ।

अन्तर्राष्ट्रिय उडान र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्त सेवा (ग्राउन्ड ह्यान्डलिङ) बापतको भरमा निगमले जीविकोपार्जन गरिरहेको छ । निगमलाई धानेकै ग्राउन्ड ह्यान्डलिङ सेवाले हो । झन्डै ५० अर्ब आर्थिक ऋण भार बेहोरिरहेको निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाज छन् । यी जहाज पनि कोभिड महामारीका कारण कतिपय गन्तव्यमा पुग्नसकेका छैनन् । अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा निगमले झन्डै २० प्रतिशत व्यापार हिस्सा ओगटेको एक अधिकारीको भनाइ छ । अहिले अन्तर्राष्ट्रिय उडानको भरमा मात्रै निगम चलेको छ । आन्तरिकमा उपस्थिति मात्रै रहेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाज अभावका कारण यात्रुको माग बढे पनि निगको उडान विस्तार गर्न नसकिएको बताउनुभयो । उहाँले निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने तत्कालै जहाज थपेर गन्तव्य विस्तार गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘निगमले आन्तरिकतर्फ साना जहाजले हिमाली तथा पहाडी भेगका विमानस्थलमा सेवा दिइरहेको छ, जम्मा साना दुई जहाज छन्, कसरी सेवा दिने ? त्यसैले तत्कालै जहाज थप्नुपर्छ ।’

महाप्रबन्धक पौडेलका अनुसार आन्तरिक उडानतर्फ हिमाली क्षेत्रका लागि चार थान र तराई भेगका लागि चार गरी आठ थान जहाज थप्नुपर्ने हुन्छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फ पनि कम्तीमा चार थान न्यारोबडी जहाज थप्नुपर्ने आवश्यकता छ । यसै पनि समस्याग्रस्त रहेको निगममा पछिल्लो पटक निगमभित्रका कर्मचारी ट्रेड युनियनको १०४ दिन लामो आन्दोलनले झनै अस्तव्यस्त पार्‍याे । लामो आन्दोलनका कारण निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्त्वपूर्ण काम/कारबाही प्रभावित भएको जनाइएको छ ।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गएकाे असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायत कार्यक्रम गर्दै आएका थिए । पर्यटन मन्त्री आलेको पहलमा यही असोज २५ गतेदेखि आन्दोलन स्थगित गरिएको छ ।

निजी एअरलाइन्सको बिजनेस बढ्दो

निजी एअरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ । दशैँ तथा नजिकिएको तिहार र छठ पर्वले व्यापार मालामाल भइरहेको छ । ठूला एअरलाइन्सको दशैँका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ छ । दशैँका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एअरलाइन्सले जनाएका छन् । शरद् ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरू पनि लालायित छन् । आन्तरिक उडानका ठूला वायु सेवा प्रदायक बुद्ध एअर, यती एअरलाइन्स, सौर्य एअर, गुण एअरलाइन्स लगायतले दशैँ बिजनेसका लागि साबिकको उडान सङ्ख्या बढाएर यात्रुको मागअनुसार सेवा दिइरहेका छन् । बुद्ध एअरलै दैनिक १४० भन्दा बढी उडान गरिरहेको छ । दुई साना र १३ एटिआर सहित १५ जहाजमार्फत दैनिक आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । यती एअरलाइन्सले अहिले पाँच वटा एटिआर–७२ विमानमार्फत विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ ।

श्री एअरलाइन्सले पनि आफ्ना ६ जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । गुण एअरलाइन्सले पाँच वटा जहाज उडाइरहेको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् भने अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायु सेवा प्रदायकले उडान गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया