कृषि फार्मको माछा पोखरीमा 'विष', माछा मरे

 असोज २८, २०७८ बिहिबार २०:२८:१७ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

झापा – झापाको कचनकवल गाउँपालिका ३ मा रहेकाे एक माछा पोखरीमा नचिनेकाे मानिसकाे समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँ रहेकाे सक्षम युवा कृषि फार्मको माछा पोखरीमा नचिनेकाे मानिसकाे समूहले विष हालेपछि माछा मर्न थालेको कृषि फार्मका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो । 

‘चार दिनयता माछा मरिरहेका छन्’, गौतमले भन्नुभयो, ‘कुखुराको आन्द्राभुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।’ गएकाे सोमवारदेखि माछा मर्न थालेको उहाँको भनाइ छ । झन्डै आधा किलो तौल भएको माछा उहाँले केही दिन अघिदेखि मात्र बिक्री गर्न थाल्नुभएको थियो । ‘सोमवार आठ/दश वटा माछा मरेको भेट्यौँ’, उहाँले भन्नुभयो, ‘त्यसको भोलिपल्ट मङ्गलवार ५० वटा जति, बुधवार एक क्विन्टल र आज दुई क्विन्टल जति मरेका माछा पोखरीबाट निकाल्यौँ ।’

पोखरीमा १० हजार माछाको भुरा हालेको उहाँको भनाइ छ । पोखरीमा हालिएको विषका कारण झन्डै १० क्विन्टल माछा मर्ने र त्यसबाट तीन लाख रुपैयाँभन्दा बढी घाटा हुने उहाँले बताउनुभयो । पोखरीमा कसले विष हाल्यो भन्ने यकिन नभएको उहाँले बताउनुभयो । मरेका माछा प्रहरीको सल्लाहमा आफूले खाल्डो खनेर पुरेको उहाँले जानकारी दिनुभयाे । 

सक्षम युवा कृषि फार्म दर्ता गरेर विसं २०७२ सालदेखि चार बिघा १५ कठ्ठा क्षेत्रफलमा माछा, बाख्रा र राँगा पालन गर्दै आएको सञ्चालक गौतमले बताउनुभयो । 

पोखरीमा विष हालिएको विषयमा उहाँले प्रहरी चौकी पथरियामा समेत निवेदन दिनुभएको छ । निवेदनपछि आफूहरूले घटनास्थलको निरीक्षण गरेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) सुरेशकुमार शेर्माले बताउनुभयो । ‘माछा मरेको छ’, उहाँले भन्नुभयो, ‘अनुसन्धान गर्दैछौँ ।’ 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया