असनमा तुलाधर समुदायले आज मनाए दशैँ

 असोज ३०, २०७८ शनिबार १५:५५:४३ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन क्षेत्रका तुलाधर समुदायले मनाउने दशैँ आज विशेष कार्यक्रम गरी मनाएका छन् ।

काठमाण्डाै महानगरपालिका–२७ मा पर्ने असनमा रहेका तुलाधर समुदायको कुल देवताको घरमा भेला भएर उनीहरुले एकापसमा दशैँ मनाएका हुन् । प्रत्येक वर्ष याे समुदायले खड्गजात्रा निकालेर त्यस आसपास क्षेत्रमा बाजागाजासहित परिक्रमा गर्ने गरेकामा कोरोना महामारीका कारण यसपटक जात्राको कार्यक्रम स्थगन गरेका थिए ।

कुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतिकात्मक रुपमा त्यसलाई काटेर आसुरी शक्तिको नाश गरेर दशैँको टीका लगाउने परम्परा छ । यहाँ आज आयोजित कार्यक्रममा कुभिन्डोमा बालकदेखि परिपक्व मानिसले मार हानेर आसुरी शक्तिमाथि विजय प्राप्त गरिएको घोषणा गरिएको थियो । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरेको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताउनुभयो । सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।

सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रुपमा मिश्रण गरिएको छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधिविधानपूर्वक जमरा रोपेर विभिन्न देवी तथा देवताको पूजाआराधना गरेका थिए ।

तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरिन्छ । देशका विभिन्न स्थानमा विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्व र विशेषता भने फरक फरक भए पनि तीनले राष्ट्र संस्कृतिलाई विशिष्ट बनाएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया