असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई काेराेनाविरुद्धकाे खोप लगाइयाे

 कात्तिक १, २०७८ सोमबार १६:२९:३९ | रासस
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज मसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा त्याे लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  

प्रधानमन्त्री शेरबहादुर देउवा गएकाे असार २९ गते नियुक्त भएलगत्तै कोरोना महामारीबाट नेपाली नागरिकलाई बचाउने कार्यलाई पहिलो प्राथमिकता दिइने र यसका लागि खोपको व्यवस्था गरी असोज मसान्तसम्म कम्तीमा एक तिहाइ लक्षित वर्गलाई खोप लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

त्यही प्रतिबद्धताअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा सरकारले खोपको व्यवस्था पनि गरेको हो । मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको जानकारी दिनुभयो ।

मन्त्रालयको तथ्याङ्कमा लक्षित वर्गमध्ये ४२ दशमलव २ प्रतिशतलाई पहिलो मात्रा र ३३ दशमलव ५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको थियो । 

मन्त्रालयको असोज मसान्तसम्म ३३ प्रतिशत, पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने योजना रहेको छ ।

महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार सात सय १० मात्रा खोप नेपाल आइसकेको छ । 

उहाँले अब दुई करोड ४१ लाख ५८ हजार सात सय ८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने जानकारी दिनुभयो । उहाँले बालबालिकालाई लगाउने फाइजर एक लाख ६ सय २० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको बताउनुभयाे । 

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना ४० लाख र ६० लाख फाइजर खोप ल्याएर लगाउने तयारी गरेको छ ।

यस्तै चीनबाट भेरोसेल खोप यही अक्टोबरमा १६ लाख मात्रा र पुससम्ममा ५९ लाख ३६ हजार चार सय मात्रा ल्याउने तयारी पनि थालेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया