म्यानमार : सैन्य 'कू' काे विराेध गर्दा पक्राउ परेका पाँच हजारभन्दा धेरै जनालाई मुक्त गर्ने निर्णय

 कात्तिक १, २०७८ सोमबार १९:११:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – गएकाे फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी 'कू' गरेको सैनिक सरकारकोे विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने भएकाे छ । 

अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा पाँच हजार ६ सय ३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताउनुभएको हो । 

यहाँ आयोजित एक क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा अहिले जारी सङ्कटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको याे घोषणा आएको बताइएको छ । प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम सुरु भएको र यसबाट देशमा अराजकता छाएको छ ।

'कू' को विरोधका प्रदर्शन गर्ने व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीका क्रममा एक हजार एक सयभन्दा बढी नागरिक मारिनुको साथै आठ हजारभन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

अझै पनि सात हजार तीन सयभन्दा बढी प्रदर्शनकारी देशभरका जेलमा रहेका राजनैतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन् । जुलाई महिनामा देशभरका जेलबाट दुई हजारभन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो । रिहा गरिएका यी व्यक्तिहरू सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिक रहेका छन् ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया