बेलायतमा पुराना मोबाइल, ल्यापटपमा प्रयोग भएको सुन निकाल्ने योजना सार्वजनिक

 कात्तिक ३, २०७८ बुधबार १८:१२:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतको सिक्का निर्माता कम्पनी रोयल मिन्टले पुराना मोबाइल फोन र ल्यापटप, कम्प्युटरबाट सुन र अरू धातु निकाल्ने योजना सार्वजनिक गरेको छ ।

काम नलाग्ने पुराना विद्युतीय उपकरणहरूको झण्डै २० प्रतिशत भाग पुनः प्रयोग गर्न सकिने धातु रहने भएकाले त्यस्ता धातु निकाल्ने प्रविधिको योजना सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

यो प्रविधिले विश्वको सबैभन्दा ठूलो वातावरणीय चुनौतीमध्ये एकलाई समाधान गर्न सहयोग पुर्‍याउने रोयल मिन्टका प्रमुख कार्यकारी एन जेस्सोपले बताउनुभएको छ ।

कम्पनीले सार्वजनिक गरेको योजनामा पुराना विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग भएका ९९ प्रतिशतसम्म सुन निकालिने र त्यो सुन ९९ दशमलव ९९ प्रतिशत शुद्ध हुने उल्लेख छ ।प्रविधिमा प्रयोग हुने रसायनले धातुहरूलाई क्षणभरमै सर्किट बोर्डबाट निकाल्न सक्ने कम्पनीले दाबी गरेको छ ।

अध्ययनकर्ताहरुले सन् २०२१ मा फ्याँकिएका विद्युतीय फोहर पाँच करोड ७० लाख टनभन्दा बढी भएको बताएका थिए । यस्ता उपकरणलाई पगालेर नभइ सामान्य तापक्रममै उपकरणबाट सुन, प्लेडियम, चाँदी र तामा निकाल्ने रोयल मिन्टको योजना छ ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया