कञ्चनपुरमा जङ्गली हात्ती भगाउन सुरक्षाकर्मी परिचालन

 कात्तिक ४, २०७८ बिहीबार १३:१६:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर - जङ्गली हात्तीको बथान भगाउन शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो ।

नगरप्रमुख दिलबहादुर ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरिएको छ । हात्ती नियन्त्रणका लागि सुरक्षा निकायका २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका–१, २, ३, ४, ५, ८, ११ र १२ वडा प्रभावित छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने र इलेक्ट्राेनिक फेन्सिङलाई व्यवस्थित पार्ने काम भइरहेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले जानकारी दिनुभयो । हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने काम भइरहेको उहाँको भनाइ छ ।

लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मर्कामा परेका छन् । जङ्गली हात्तीले बुधवारमात्रै नगरपालिकाको वडा नं १२ का दम्पती ध्वजबहादुर कार्की र मथुरा कार्कीको ज्यान लिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बस्ती नजिकैका सामुदायिक वनमा जङ्गली हात्ती दिउँसै ओहोरदोहोर गर्दै आएका छन् । स्थानीय बासिन्दाले हात्तीकै डरले मेलापात गर्न छाडेका छन् ।

प्रत्येक वर्ष भारतको दुधुवा नेसनल पार्क हुँदै जङ्गली हात्तीको बथान यहाँ आइपुग्ने गर्दछ । वर्षातका बेला दुधुवा नेसनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ । निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पुर्याउँदै आएको छ । हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो (करिडोर) मासिँदा हात्तीले अधिक नोक्सानी पुर्याउने गरेको वन्यजन्तुविज्ञहरुको भनाइ छ ।

'हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन', विज्ञहरु भन्छन्, 'प्रजननका बेला मात चढेको मत्त (भाले) हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ ।' छावामाथि आक्रमण हुनसक्ने ठानेमा हात्ती हिंस्रक हुने बताइएको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया