रुसबाट हतियार ल्याए कतारमा सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

 जेठ २०, २०७५ आइतबार ७:५५:४४ | एजेन्सी
unn.prixa.net

जेठ २० – रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ ।

रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको एक गोप्य सूचनालाई उद्धृत गर्दै यो दैनिकले आफ्नो शुक्रबारको अङ्कमा लेखेको छ ।

यस समाचार रिपोर्टप्रति फ्रान्सको राष्ट्रपतिको कार्यालयका साथै विदेश मन्त्रालयबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । 

खाडी क्षेत्रका शक्तिराष्ट्रहरू बहराइन, संयुक्त अरब इमिरेट्सलगायतको सहयोगमा साउदी अरबले अतिवादी इस्लामिक समूहहरू तथा इरानसँग निकट भएको आरोपमा कतारसँगको सम्बन्धलाई गत वर्षको जुनदेखि विच्छेद गरेको घोषणा गरेको छ । इरानलाई रियादको क्षेत्रीय प्रतिस्पर्धीका रूपमा हेरिने गर्छ ।
 
आफूमाथि लागेको आरोपको कतारले खण्डन गर्दै केही खाडीमुलुकले लगाएको आर्थिक नाकावन्दी अन्यायपूर्ण भएको बताउदै आएको छ ।

खाडी मुलुकहरूले एक्लाइरहेका वेला कतारले रूसलगायतका नयाँ सहयोगीहरूको खोजी गरेको छ ।

कतारले यही वर्षको जनवरीमा मस्कोसँग अत्याधुनिक एस–४०० हतियार प्रणालीका विषयमा छलफल चलिरहेको बताएको थियो । त्यतिबेला छलफल निकै अघि बढिसकेको बताइएको थियो ।

ले मोन्डेले भनेको छ, “साउदी राजा सलमानले हतियार खरिदबारे गहिरो चासो व्यक्त गर्दै फ्रान्सेली राष्ट्रपतिलाई लेखेको पत्रमा यसले क्षेत्रीय द्वन्द्वलाई बढाउने खतरा रहेको चेतावनी दिइएको छ ।” 

पत्रमा साउदी अरबले उक्त हतियार प्रणालीलाई नष्ट गर्न जुनकुनै उपाय अवलम्बन गर्ने र कतार विरुद्ध सैन्य कारबाही गर्न तयार हुने बताएको पत्रिकामा उल्लेख गरिएको छ । रासस
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया