म्याग्दीको लमसुङ गाउँ पहिरोको उच्च जोखिममा

 कात्तिक ६, २०७८ शनिबार १२:२६:८ | रासस
unn.prixa.net

म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट पहिरो गएका कारण चार वटा  परिवार विस्थापित भएका छन् ।

लमसुङमा रहेको स्वास्थ्यचौकीसमेत पहिरोको जोखिममा परेको स्थानीय बासिन्दा भक्तबहादुर सिङकिजाले जानकारी दिनुभयो । जोखिममा परेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनुभयो । भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घर जोखिममा परेपछि उहाँहरुलाई सुरक्षित ठाउँमा सारिएको हो ।

लमसुङ बस्तीको माथितर्फ २०७४ सालमा गएको जुगेपानीको पहिरो रोकिए पनि तलबाट नयाँ पहिरो सिर्जना भएपछि स्थानीय बासिन्दा  चिन्तित भएका छन् । तत्काल पहिरो नियन्त्रणको काम नगरे वडा कार्यालयसमेत रहेको झण्डै ८० घरधुरीको बसोबास रहेको लमसुङ गाउँमा थप जोखिम बढ्ने स्थानीयवासीले बताएका छन् ।

वडाध्यक्ष गमप्रसाद विकले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको र थप क्षति हुन नदिन पहिरो नियन्त्रणको योजनाका लागि पहल गरेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया