वालिङ नगरपालिका : शैक्षिक बेरोजगार न्यूनीकरणका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

 कात्तिक ६, २०७८ शनिबार १३:१२:३६ | रासस
unn.prixa.net

फाइल तस्बिर

स्याङ्जा – स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ ।

नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै शुक्रबारबाट स्वास्थ्य सेवातर्फ अहेब/अनमीको एकमहिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । ‘मानव संशाधनको विकास समृद्धिको निकास : समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नगरपालिकाले तयारी कक्षा सञ्चालन सुरु गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“सरकारी सेवामा स्याङ्जा जिल्लाको छुट्टै पहिचान छ, त्यसलाई अझै पुष्टि गर्नुका साथै पहिचानलाई जोगाइराख्नका लागि पनि हामीले निःशुल्क तयारी कक्षा सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित अगाडि बढेका छौँ ।”

नगरपालिकाले लोकसेवा आयोगले हाल माग गरेको अहेब/अनमी पदलाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको हो । यसअघि गत वर्ष नगरपालिकाले निःशुल्करुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो ।

“पहिलो चरणमा नायब सुब्बा र खरिदारलाई लक्षित गरी निःशुल्करुपमा तयारी कक्षा सञ्चालन गर्यौँ”, प्रमुख खाँणले भन्नुभयो, “त्यसको उपलब्धि राम्रो देखियो, तयारी कक्षा सञ्चालनको प्रभावकारिता राम्रो भएकाले यसपटक प्राविधिक तर्फको स्वास्थ्य सेवाको अहेब र अनमीका लागि तयारी कक्षा सञ्चालन सुरु गरेका हौँ ।”

नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको प्रमुख खाँणले जानकारी दिनुभयो । नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगर उपप्रमुख कल्पना तिवारीले दाबी गर्नुभयो । नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ छ । 

नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोकसेवा आयोगको तयारीका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकका लागि उपयोगी हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो । तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकमार्फत सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्ने वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

लाेकसेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन हुनेछ  । यो अभियान नगरपालिकामै पहिलो भएको उहाँको दाबी छ । तयारी कक्षा सञ्चालनका लागि प्राप्त भएका आवेदनका आधारमा हाल ८० जना महिला पुरुष प्रशिक्षार्थी सहभागी छन् ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया