चाँगुनारायण नगरपालिका क्षेत्रभित्र बङ्गुर पाल्न नपाइने

 कात्तिक ७, २०७८ आइतबार १०:२१:५० | रासस
unn.prixa.net

फाइल तस्बिर

ललितपुर - चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगर सभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो ।  नगरपालिकाले हालै सूचना जारी गरेर आउँदाे मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ । 

फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पुर्याएको, खोलादेखि स–साना खहरेमा फोहर तथा ढल सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै सञ्चालनमा रोक लगाएको  सूचनामा जनाइएको छ । 

स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गर्न वडादेखि नगरपालिकासम्म दबाब दिएकाले नगर सभाले नै यस्तो निर्णय गरेपछि अहिले कार्यान्वयनमा ल्याएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

नगरपालिकाको प्रशासन शाखाका अधिकृत नीलाकुमारी घिमिरेले नयाँ बङ्गुर फार्म सञ्चालन नगर्न र सञ्चालनमा रहेका बङ्गुर फार्मलाई ३० दिनभित्र हटाउन निर्देशन दिँदै सूचना जारी गर्नुभएको छ । आउँदाे मङ्सिर ५ गतेभित्र त्यस्ता फार्म नहटाए कारबाही गर्ने उहाँले जानकारी दिनुभयो । अहिले चाँगुनारायणका विभिन्न ठाउँमा  व्यावसायिक रूपमा बङ्गुर फार्म सञ्चालनमा छन् ।

सरकारको नियमानुसार पनि यस्ता बङ्गुर फार्म सम्बन्धित पालिकासँग अनुमति लिएर व्यवसाय दर्ता गर्दै बस्तीको बीच वा बस्ती नजिक नभइ बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ । चाँगुनारायण क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको नगरपालिकाको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया