बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?

 कात्तिक ७, २०७८ आइतबार १०:४९:४९ | रासस
unn.prixa.net

तस्बिर : रासस

कैलाली - कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् ।

बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । विद्यालयमा आश्रय लिएर बसिरहेकाहरु घर कहिले फर्कने, कसले घर बनाइदिने भन्ने अन्योलमा छन् । जानकी गाउँपालिका–३ मुक्तकमैया बस्तीका चन्टु थारूको घर अहिले छैन ।

हालै भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बस्ती डुबानमा परेपछि चौधरीको घर त्यही बाढीमा मिसियो । बाढीमा घर गुमाएका चौधरीको घरमा रहेकाे अन्नपात, लुगाकपडासहित सबै सम्पत्ति बग्यो । जीवनभरि कमाएको सबै पानीमा बगेपछि चौधरीसहित त्यहाँका केही मुक्तकमैया बालमुक्ति आधारभूत विद्यालयमा बसोबास गरिरहेका छन् ।

विद्यालयमा बसिरहनुभएका चौधरी नजिकै रहेको घरतिर फर्केर हेर्दा निकै भक्कानिनुहुन्छ । 'घरतिर हेर्छु, घर नै छैन, दुःख गरेर जोडेको सबै सामान बग्यो', उहाँ भन्नुहुन्छ,'छ दिन भयो विद्यालयमा बसेको । यसरी बसेर कति दिन टर्छ। घर बचेकाहरु घर सफा गर्न थालेका छन् । स्थानीय सरकारले राहत दिने भनेको छ । घर भएकाहरु त फर्केलान्, हामी कहाँ जाउँला ?'

चन्टुजस्तै सुस्मिता थारूको घर पनि बाढीले भत्काएर पूर्णरूपमा नष्ट भएको छ । उहाँ पनि घर नै नरहेपछि अब कहाँ बस्ने भन्ने चिन्तामा हुनुहुन्छ ।'आँखै अगाडि बाढीले सबै बगायो, घरभित्रका केही सामान पनि सार्न सकिएन', सुस्मिताले भन्नुभयो,'दैव पनि हामीजस्ता गरिबलाई नै विपत्तिमा पार्ने रहेछ । गरिबीमा बाँचेका हामी अब घरै नरहे कहाँ बसौँला ?'

बाढीले बस्तीमा १८ परिवारका घर रहेनन् । ती परिवारले आँखा अगाडि घर बाढीमा मिसिएको देखिरहे तर आफ्नो केही सामान पनि जोगाउन पाएनन् । यसरी विद्यालयमा बसेका सयौँ नागरिकलाई पालिकाले साँझ बिहान दुई छाक खाना खुवाइरहेका छन् । कैलालीमा बाढीका कारण सयौँ परिवारले घर गुमाएका छन् भने हजारौँ परिवार विस्थापित भएका छन् । 

टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिकाका उच्च ठाउँमा रहेका विद्यालय यतिखेर बाढी प्रभावितले भरिएका छन् । पालिका र सङ्घसंस्थाले सहकार्य गरेर विद्यालयमा आश्रय लिइरहेकालाई खाना खुवाइरहेका छन् । टीकापुरमा सयौँ परिवार विद्यालयमा बसिरहेका छन् । टीकापुरको तटीय क्षेत्र वडा नं ८ मा बाढीले बढी क्षति पुर्याएको छ ।

वडा नं ८ पूरै प्रभावित भएकाले त्यहाँका विस्थापित परिवारलाई राहत तथा उद्धारका कार्यमा पालिका जुटेको विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले बताउनुभयो । 'हामीले विपद् व्यवस्थापन समितिको बैठक बसेर मापदण्ड बनाएर राहतका कार्यक्रम ल्याउँदैछौँ', उहाँले भन्नुभयो,'बाढीले ठूलो क्षति पुर्याएकाले राहत तथा उद्धारका कार्यमा सबै मिलेर काम थालिएको छ।

सङ्घसंस्थाको सहयोगमा पानी, चिउरा र चाउचाउ वितरण भइरहेकाे छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी पालिकाले तथ्याङ्क सङ्कलन र क्षतिको विवरण सङ्कलन गरिरहेकाले केही दिनमै राहतका कार्यक्रम ल्याइने बताउनुभयो ।

'सरकार साथमा छ भोकै कसैले बस्नु नपरोस् भन्ने गरी काम गरिरहेका छौँ', उहाँले भन्नुभयो,'हामीले सहयोगी सङ्घसंस्थालाई समेत सहकार्य गर्न आग्रह गरेका छौँ । क्षति हेरेर सहयोग हुनेछ ।'

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया