‘पाकिस्तान र अफगानिस्तानमा पाेलियाे उन्मूलन हुन नसक्दा नेपालमा पनि जोखिम कायमै’

 कात्तिक ७, २०७८ आइतबार १६:२:४३ | रासस
unn.prixa.net

चितवन – नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् । 

विश्व पोलियो दिवसका अवसरमा आज आइतवार यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन् ।

रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ का आठ वटा क्लबले आयोजना गरेको मोटर र्‍यालीपछि आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का पूर्वगभर्नर रविन्द्रकुमार पियाले नेपालमा पोलियो उन्मूलन भए पनि छिमेकी देशमा उन्मूलन हुन नसक्दा जोखिम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोटरियन पोलियो रोग उन्मूलनमा लागिराखेका छन् । छिमेकी देशको असर यहाँ नदेखिएला भन्न सकिँदैन ।’

रोटरीको पोलियो विभागका सल्लाहकार शरदगोपाल न्याछ्योले पोलियो रोग उन्मूलनका लागि रोटरीले सन् १९५३ देखि अभियान सुरु गरेको जानकारी दिनुभयो । यो अभियानमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा रोटरियन नारायण प्रधान, रोशन पिया, विपिन पोखरेल लगायतले बोलेका थिए ।  

कार्यक्रमअघि पूर्वी चितवनको लोथरबाट उद्योग वाणिज्य सङ्घ चितवनको प्राङ्गणसम्म मोटर र्‍याली गरिएको थियो । जनचेतनामूलक त्यस र्‍यालीमा मोटरसाइकल र कार सहभागी थिए ।

यसअघि हिजाे शनिवार नारायणगढबाट सौरहासम्म साइकल र्‍याली गरिएको थियो । कार्यक्रमका संयोजक विपिन पोखरेलका अनुसार दुई दिन जनचेतना जगाउने उद्देश्यले र्‍यालीको आयोजना गरी आज कार्यक्रमको समापन गरिएको हो ।

अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ । अहिले विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया