तिहार नजिकिँदै, मागको ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

 कात्तिक ८, २०७८ सोमबार १५:४९:२५ | रासस
unn.prixa.net

कास्की – धेरैजसाे उत्पादनमा परनिर्भरता नै मौलिकताजस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिँदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको फ्लोरिकल्चर एसाेसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताउनुभयो ।

‘घाँटीमा लगाइने मालाका लागि बाहिरबाट आयातित फूलभन्दा पनि सकेसम्म स्थानीय उत्पादनकै प्रयोग गर्ने क्रम बढेका कारण तिहारका लागि बजारमा यहीँ उत्पादित फूल बढी माग हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘यस वर्ष मागको झन्डै ८० प्रतिशत फूल पोखरा र आसपासमा नै उत्पादन भएको छ ।’

परनिर्भरताकै कारण समयसमयमा हुने गरेका नाकाबन्दी, यातायात असहजता, महँगी आदिका कारण पनि उत्पादक र उपभोक्ता दुवै स्थानीय उत्पादनतर्फ आकर्षित बन्दै गएका छन् । पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पछिल्ला वर्षमा फूल खेतीतर्फ आकर्षण बढिरहे पनि कोरोना महामारी, समस्यामा पर्ने गरेका प्राकृतिक विपत्ति आदिका कारण यस व्यवसायमा केही न केही प्रभाव पारेको छ ।

यस वर्ष तिहारका लागि लगाइएको फूलखेतीमा दशैँलगत्तै परेको पानीले केही क्षति पुर्‍याएकाे जनाउँदै उहाँले समयक्रम मिलाएर नलगाउँदा पनि कतिपय ठाउँका किसान समस्यामा परेको बताउनुभयो । पछिल्ला वर्षमा कतिपय सर्वसाधारणले घरबारी तथा कौसीमा तिहारका लागि फूल लगाउने क्रम पनि उत्तिकै बढेको पाइन्छ । अघिल्लो वर्ष तिहारका लागि बाहिरबाट फूल कम नै आएको र स्थानीय उत्पादन नै बढी बिक्री भएको कृषि उपज बजार केन्द्र पृथ्वी चोकका सूचना अधिकारी रूपा दाहालले जानकारी दिनुभयो ।

कास्कीभित्र लेखनाथ, भरतपोखरीको बागमारा, कालिका, मालेपाटन, विरौटा, बाटुलेचौरलगायत ठाउँमा फूलको व्यावसायिक खेती हुने गरेको छ । फूलैफूलको चाडको उपमा पाएको तिहारमा दाजुभाइ र दिदीबहिनीका गलामा लगाउने मालाका साथै घर सजाउने, गाई, गोरु, कुकुर आदिलाई पनि माला लगाइने भएकाले फूलको राम्रै खपत हुने गर्दछ ।  

फ्लोरिकल्चर एसाेसिएशन कास्कीमा अहिले ३५ व्यवसायी आबद्ध रहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । जिल्लामा फूलखेतीको व्यावसायिकता वृद्धिसँगै यसलाई व्यवस्थित बनाउने लक्ष्यका साथ २०६३ सालयता एसाेसिएशनमा आबद्ध भइ व्यवसायी क्रियाशील बनेका हुन् । पोखरा र आसपासमा उत्पादित सयपत्री फूलको प्रति थुङ्गा लगभग पाँच रुपैयाँ पर्दछ । यहाँ उत्पादित फूल आकर्षकसँगै आकार पनि केही ठूलो हुने भएकाले सामान्यतः एउटा माला तयार गर्न २० देखि २५ थुङ्गाले पुग्ने व्यवसायी बताउँछन् । उनीहरूका अनुसार तिहारमा प्रति मालाको न्यूनतम १०० देखि १५० रुपैयाँसम्म पर्ने गर्दछ । पोखरामा झन्डै ३०० प्रजातिका फूलकाे व्यवसायिक खेती हुँदै आएको छ । 

पछिल्ला वर्षमा मौसम, फूल्ने अवधिलगायत कुरालाई ध्यानमा राख्दै व्यवसायीले फूलखेती गर्ने गरेका छन् । एसाेसिएशनका अध्यक्ष गुरुङका अनुसार सामान्यतः सयपत्री फूल बेर्ना जमाएको ९० दिनमा फूल्ने गर्दछ । समयक्रम मिलाएर लगाइका कारण व्यवसायीले लगाएका फूल तिहारका लागि ठिक्क तयार हुने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया