टिकट नपाउँदा हुम्लामा विमानस्थलबाटै फिर्ता भए बिरामी

 कात्तिक ९, २०७८ मंगलबार १३:६:५३ | रासस
unn.prixa.net

तस्बिर : रासस

हुम्ला - जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ ।

टिकट नपाए पछि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका ६० वर्षीय वीरजित शाही  उपचारमा जान पाउनु भएन ।

शाहीले टिकट पाए पनि कुरुवाले टिकट नपाएपछि हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएको उहाँका छोरा दीर्घ शाहीले बताउनुभयो । यसैबीच, विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन् ।

नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी हवाई कम्पनीले नियमित उडान नभर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । यस्तै, हुम्लामा नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान नभर्दा हुम्लाबाट नेपालगञ्ज, सुर्खेतलगायत जिल्लामा आउने जाने  यात्रुलाई सास्ती भएको छ ।

दशैँ मनाएर काठमाण्डौ, नेपालगञ्ज, सुर्खेत, पोखरालगायत सहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन् । हप्ता दिनसम्म धाउँदा पनि टिकट नपाएको सिमकोट गाउँपालिका–२ का दीपेन्द्र बोहराले गुनासो गर्नुभयो । पहुँचवालाले सहजै टिकट पाउने गरेका उहाँको गुनासो छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया