पाकिस्तानको जितमा खुसीयाली मनाउने भारतीय शिक्षिका निष्कासित

 कात्तिक १०, २०७८ बुधबार ७:१०:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आइतबारको खेलमा धेरै चासो थियो । भारत र पाकिस्तानबीचको खेल रोमाञ्चक होला भन्ने अनुमान थियो । अनुमानअनुसार नै खेल पनि ठ्याक्कै त्यस्तै भइदियो ।

भारत र पाकिस्तानका समर्थकहरूले खेललाई एउटा लडाइको रूपमा लिने गर्नाले पनि यी दुईबीचको खेलमा चासो हुने गरेको छ । खेलमा भारतले नसोचेको नतिजा आयो । पाकिस्तानसँग भारत १० विकेटले पराजित भयो । पाकिस्तानले टी–२० विश्वकपमा केवल आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई हराएन मात्र, सानदार जित निकाल्यो । यसअघि भारतले यी दुई देशबीचको हरेक विश्वकप खेल जितेको थियो । 

हारेसँगै भारतका केही खेलाडीले समर्थकको गाली पनि खाए । पाकिस्तान र भारतबीच लामाे समयदेखिको विवाद खेलमा पनि देखिने गरेको छ । आइतबार पनि त्यस्तै भयो । प्रतियोगितामा पाकिस्तानको जितमा खुसी मनाउने भारतकी एक शिक्षिकाले जागिर नै गुमाउनु परेको छ । राजस्थानको उदयपुरमा रहेको एक निजी विद्यालयमा पढाउने शिक्षिकालाई विद्यालयले निष्कासन गरेको हो । उनले ह्वाटस्एपमा पाकिस्तानी खेलाडीको तस्बिर राख्दै ‘जित गए’, ‘वी वन’ लेखेकी थिइन् ।

उनले लेखेको यो स्टाटस एक विद्यार्थीका अभिभावकले देखे । स्टाटस देखेपछि उनले शिक्षिकालाई तपाई पाकिस्तानको सपोर्टमा हो भनेर सोधेका थिए ?

जवाफमा शिक्षिकाले – ‘हो’, भनेकी थिइन् । 

त्यसपछि विवाद बढ्न सुरु भएको थियो । उनीहरु दुई बीचको च्याट स्क्रिन सट गरेर स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराएपछि यो विषय भाइरल भयो । त्यसपछि विद्यालयले उनलाई निष्कासन गरेको सूचना निकालेको बीबीसी हिन्दीले लेखेको छ । 

विद्यालयबाट निष्कासित भएपछि शिक्षिकाले यो विषय यति उग्र होला भन्ने नसोचेको बताएकी छिन् । उनले रमाइलो र हँसीमजाकमा पाकिस्तानको सपोर्ट गरेको प्रतिक्रिया दिएकी छिन्  । आफू भारतमा बस्ने र भारतीय नागरिक भएका कारण भारतकै 'सपोर्टर' भएको उनको प्रतिक्रिया छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया