स्पेनका सभामुख नेपाल भ्रमणमा

 कात्तिक ११, २०७८ बिहिबार १०:२८:५१ | रासस
unn.prixa.net

काठमाण्डाै - वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाण्डाै आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेश सभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी हुनुहुन्छ ।

छ दिनको भ्रमणमा आएको स्पेनका प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने र बौद्धनाथमा भिक्षुहरुसहित दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोली नेपालमा रहँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछ । यस्तै परराष्ट्रमन्त्री डा नारायण खड्का र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

स्पेनी प्रतिनिधिमण्डल आउँदाे मङ्गलवार स्वदेश फर्कनेछ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया