जुम्लाका बाढी पीडित भन्छन्– ‘चामल नदेऊ, धानखेत बनाइदेऊ’

 कात्तिक १४, २०७८ आइतबार १३:२९:४४ | रासस
unn.prixa.net

फाइल तस्बिर

जुम्ला - सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइ खाने आधार सकिएको छ ।

विगतका वर्षहभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फलेको थियो । उनीहरु कात्तिक २ गते काट्ने तयारी गर्दै थिए । यद्यपि दशैँका कारण उनीहरुले धानबाली भण्डारण गर्न पाएका थिएनन् । दुर्भाग्यः एक दिनको पर्खाइले उनीहरुको जीउने आधार बगर बन्न पुग्यो । पसिना बगाएर फलाएको अन्नबाली बाढीले बगाउँदा अहिले त्यहाँका किसान भोकमरीको चिन्ताले पिरोलिन थालेका छन् ।

तिला–४ जुम्ला साँपुल्लीगाउँका पशुपति शाहीलाई दशैँको खुशी प्राकृतिक विपत्तिले राम्रैसँग लुटेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, 'दशैँ मनाएलगत्तै धान भण्डारण गर्ने योजनामा थियौँ । तर विपत्तिले हाम्रो श्रम, मेहेनत र पसिना सबै बगायो । एक दिनको पर्खाइले पुर्पुरोमा हात लगाउनुपर्ला भन्ने कुनै कल्पना गरेका थिएनौँ । अहिले त हामी सुकुम्बासीजस्तै भएका छौँ ।'

बाढीले अन्न उत्पादन गर्ने धानखेत बगर बनेको दुःख पोख्दै उहाँले सरकारले दुई कट्टा चामल दिनुभन्दा धानखेत बनाउन सहयोग पुर्याए दीर्घकालीन समस्या समाधान हुने बताउनुभयो । त्यही वडाका बाढीपीडित पद्मकौंरा शाहीले यति भयानक विपत्तिमा पनि सङ्घ र प्रदेश सरकार बेवास्ताग्रही रहेको दुखेसो पोख्नुभयो ।

'जनताको दुःखको बेला दुःख बुझ्न नआउने जनप्रतिनिधि र सरकार चुनावताका खेत–खेतमा धान रोप्न सहयोग गरेजस्तो गर्दै भोट माग्न आउँछन्', शाहीले भन्नुभयो, 'यो त उनीहरु सबैको झुटको खेती रहेछ । कहिले घर त कहिले खेतमा आउनेको अनुहार र व्यवहार राम्रैसँग चिनियो ।'

बाढीपीडित हाँसु सुनारले आफ्नो धानखेतको कुनै अवशेष नरहेको जनाउनुभयो । धानखेतमा बाढीले ल्याएको दाउरा सङ्कलन गर्नेबाहेक अरु सबै गुमेको सुनारले दुखेसो पोख्नुभयो । बाढीले दलित तथा गरिबहरुलाई ठूलो समस्या परेको छ । प्राकृतिक विपत्तिले एक अर्ब रुपैयाँ बराबरको क्षति भएको विषयमा गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति हुँदै प्रदेश तथा सङ्घ सरकारसँग तत्काल राहत र दीर्घकालीन जीविकोपार्जनका कार्यक्रमका लागि अनुरोध गरिएको वडाध्यक्ष सन्तबहादुर शाहीले जानकारी दिनुभयो ।

बाढीले झोलुङ्गे तथा काठे पुलहरु बगाइदिएपछि तिला गाउँपालिका–४ जुम्लामा रहेकाे नुवाकोट, रावतवाडा र साँपुल्ली गाउँका स्थानीयवासीलाई आवागमनमा ठूलो समस्या भएको छ । रावतवाडा गाउँका नागरिक पुल नहुँदा पाँच मिनेटमा पुग्न ठाउँ अहिले करिब दुई घण्टा पैदल हिँड्नुपरेको छ । बाढीपश्चात आजभोलि त्यहाँका बासिन्दा धमिलो नदीको पानी खान बाध्य छन् ।

विद्युत् नहुँदा तिला तथा तातोपानी गाउँपालिका–४ जुम्लाका स्थानीय समुदाय अन्धकारमा रात बिताउँदै आएका छन् । कात्तिक २ गते रातिको बाढीले यहाँ चारवटा विद्युत् गृह ध्वस्त बनाएको थियो । सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाढीले तातोपानी गाउँपालिका–४ गिरिखोला जुम्लाको सिँचाइ क्षेत्रमा मात्र १५ करोड रुपैयाँ क्षति पुर्याएको छ ।

बाढीले यहाँका घर, विद्यालय, विद्युत्, स्याउ बगैँचा, दर्जनौँ काठका पुल, खानेपानी परियोजना, स्थानीय घट्ट र विशेषगरी चार हजार रोपनीभन्दा बढी धान खेतीयोग्य भूमि बगर बनाएको छ । धेरै किसान सुकुम्बासी हुनुपर्ने समस्या आइलागेको छ ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले घरसहित करेसाबारी क्षति भएकालाई आठ लाख ५० हजार  रुपैयाँ र घर क्षति मात्र भएकालाई पाँच लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको जनाउनुभयो । धानखेती क्षतिको यकिन विवरणलाई आधार मानी बाढीले ढाकेको र बगर बनाएको अवस्थाअनुसार किसानलाई राहत वितरण तथा क्षतिपूर्ति न्यायिक ढङ्गले गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया