प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेलमा ‘पर्यटक भरिभराउ’

 कात्तिक १९, २०७८ शुक्रबार १४:९:३० | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही कात्तिक पहिलो हप्ता धुलिखेलमा रहेकाे साहसिक खेल ‘जीपलाइन’ मा रमाउनुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्ड जीपलाइनमा जत्ति रमाउनुभयो, त्यसको दोब्बर खुसी खेलका सञ्चालकहरूमा देखिएका छन् । कारण थियो, कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरङ्ग पैदा भइदिनु ।

आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बस्नुभएका अध्यक्ष प्रचण्ड भोलिपल्ट फर्कँदा काभ्रेपलाञ्चोकको पर्यटकीय धुलिखेलमा रहेकाे जीपलाइन खेलमा रमाउनुभएको थियो । उहाँको जीपलाइन खेलले धुलिखेलको पर्यटन क्षेत्रमा तरङ्ग नै पैदा भएको देखिएको छ । त्यति बेला अध्यक्ष प्रचण्डले जीपलाइन खेलपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिनुभएको थियो । अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ । 

‘पूर्वप्रधानमन्त्री प्रचण्डले जीपलाइन चढेपछि यसमा चढ्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ, धुलिखेलमा जीपलाइन खेल छ भन्ने सन्देश पनि गएको छ’ , वर्ल्ड वाइड एड्भेन्चर प्रालिका अध्यक्ष केदार थापाले भन्नुभयो । उहाँका अनुसार त्यस दिन अध्यक्ष प्रचण्ड स्वतःस्फूर्त जीपलाइन खेल्न स्टेशन आउनुभएको हो । जीपलाइनको ‘टेकअफ’ धुलिखेल नगरपालिका–८ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेशन’ पाँचखाल नगरपालिका ५ मा रहेकाे खावासम्म एक हजार एक सय मिटर लम्बाइको छ । विसं २०७५ को अन्त्यबाट सञ्चालनमा आएको जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) तीन प्रकारको खेल्न पाइन्छ ।

जीपलाइन खेलले मात्रै एक दिनको धुलिखेल घुमाइ नसकिने भएकाले पर्यटकीय देवीस्थान र गोसाइँस्थान डाँडामा रमाउनु आन्तरिक पर्यटकको तालिका नै बन्ने गरेको पाइन्छ । ‘अहिलेका बिदामा साथीहरू मिलेर जीपलाइन जाने र धुलिखेलका डाँडा घुम्ने गर्छाैँ’, भक्तपुरका अनिष थापाले भन्नुभयो । धुलिखेलको पर्यटनमा चाडपर्वले पनि चहलपहल बढाएको पाइएको छ । विषेशगरी भक्तपुर, काठमाण्डाै, ललितपुर र नुवाकोटबाट धुलिखेलमा आन्तरिक पर्यटक आउने गरेको जनाइएको छ ।

त्यसो त गएकाे भदौ दोस्रो हप्तादेखि कोरोना सङ्क्रमण दर ओरालो लाग्दै गर्दा धुलिखेलमा रहेकाे होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लाग्दै आएको छ । त्यसयता होटलमा शुक्रवार र शनिवार चहलपहल बढ्दै बितेको एक महिनामा दैनिक आन्तरिक पर्यटकको आउजाउ पनि हुन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भदौयता कार्यक्रमका बुकिङसँगै दैकिजसो आन्तरिक पर्यटक आउन थालेका छन् ।’ चाडपर्वले पर्यटनमा थप चहलपहल बढेको हुन सक्ने उहाँको तर्क छ ।

प्रक्षेपण गरिएअनुसार कोरोनाकाे तेस्रो लहर आउला–नआउला तर, कोरोना सङ्क्रमण दर सङ्ख्या निकै ओरालो लागेपछि अहिले धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा रहेको देखिन्छ । ‘अब व्यवसायले रूप फेर्लाझैँ आशा जागेको छ, कोरोना तेस्रो लहरको चिन्ता पनि उत्तिकै त छ तर, अहिले होटल–पर्यटन सहज बन्दै गएको छ’, उहाँले भन्नुभयो । पचास शय्याको क्षमतामा रहेका होटल सारथीले विभिन्न छुटसहितका प्याकेज कार्यक्रमसमेत सार्वजनिक गरेको छ । कोरोनाका दुई वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा बेहाेर्न बाध्य बनाइरहेका बेला फेरि तेस्रो लहरको महामारी प्रक्षेपण हुने खतरा बढेको धुलिखेलका होटल व्यवसायी बताउँछन् । यद्यपि, व्यवसाय लयमा फर्कनेबारे थप चिन्ताको भारी नबोकाएको भने हैन ।

कोरोनाको जोखिमपछि अहिले फेरि बामे सर्दै गरेका होटल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल सङ्घ (हान) का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताउनुभयो । ‘अब सङ्क्रमण दर निकै घटेर होटल–पर्यटन व्यवसाय लयमा फर्कने भएपछि हामी निकै खुसी छौँ’, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो । दैनिक दुई सयका हाराहारीमा उहाँको रिसोर्टमा आन्तरिक/बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झरेको थियो । उहाँले भन्नुभयो, अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दैछन्, अब विदेशी पर्यटकको पर्खाइमा छौँ । उहाँका अनुसार अध्यक्ष प्रचण्डले जीपलाइन खेल्दा धुलिखेलको पर्यटनको सान बढ्दै गएको छ ।

गएकाे वर्षको कोरोना त्रासपछि आन्तरिक एवम् बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बन्याे धुलिखेलमा ठूला–साना गरी झन्डै ६० होटलमा एक हजार शय्या क्षमता छन् । धुलिखेलको होटल–पर्यटनमा मात्रै झन्डै ५० अर्ब रुपैयाँको लगानी रहेको सङ्घले जनाएको छ । यहाँ झन्डै तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहाेरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गएकाे भदौ महिनामा विशेष तीन प्याकेजसमेत घोषणा गर्नुपरेको थियो । गएकाे वर्ष कोरोना भाइरस सङ्क्रमण दर घट्दा होटल–पर्यटनमा बढेको चहलपहलको आभाष यो वर्ष पनि भएको हानका सचिव ज्योत्स्ना सैँजूले बताउनुभयो । ‘दोस्रो लहरपछि फेरि अहिले आन्तरिक पर्यटक बढ्दै गएका छन्, सरकारी खोप अभियानका कारण लयमा फर्कने अपेक्षाकृत छौँ’, होटल माउन्ट प्रिन्सेस्का सञ्चालकसमेत रहनुभएका सैँजूले भन्नुभयो ।

पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाण्डाैबाट ३० किलोमिटरको दुरीमा रहेकाे छ । धुलिखेल काठमाण्डाैबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका साथै काठमाण्डाै, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दछन् । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया