पहाडी भेगका एक, दुई ठाउँमा सामान्य वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्न थाइल्यान्डकाे एरो थाईले अनुमति पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौताअनुसार एरो थाईलाई क्यालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ । क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ ।
एरो थाईले क्यालिब्रेशन फ्लाइट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक महिनाभित्रै परीक्षण उडान हुनेछ । त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ । एरो थाई थाइल्यान्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एअरवेजका लागि एटीसीलगायत प्राविधिक जनशक्ति एरो थाईले उपलब्ध गराउने गरेको बताइन्छ । आउँदाे नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पूरा गरी क्यालिब्रेशन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एक हप्ता अवधिको हुनेछ ।
कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष नै उद्घाटन गर्ने भनिएको याे आयोजना केही ढिला भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनअनुसार प्राधिकरणले क्यालिब्रेशन फ्लाइटको टुङ्गो लगाएको हो ।
महानिर्देशक क्षेत्रीले भूकम्प, नाकाबन्दी तथा ठेकेदारले बेलैमा पैसाको जोहो र निर्माण सामग्री गर्न नसक्नुले पनि आयोजना सम्पन्नमा ढिलाइ भएको छ । पालिकासँगको समन्वय गर्न नसक्नु तथा पछिल्लो कोभिड–१९ महामारीका कारण आयोजना प्रभावित बन्यो । क्यालिब्रेशन फ्लाइट विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले पनि आयोजना ढिलो भएको उहाँले बताउनुभयो । महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, ‘गौतमबुद्ध विमानस्थलको प्राविधिक प्रक्रिया लगभग पूरा गरिसकेका छौँ, तुरुन्त गर्नुपर्ने क्यालिब्रेशन फ्लाइट अबको एक महिनाभित्रै सक्छौँ, त्यसको तीन महिनाभित्र परीक्षण उठान गरी अर्को पाँच महिनाभित्र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने योजना छ ।’
परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायु सेवालाई नियमित उडानका लागि आह्वान गरिने उहाँको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ । विमानस्थलको प्राविधिक स्थितिको काम लगभग सकिसकेकाले अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने महानिर्देशक क्षेत्रीले बताउनुभयो ।
गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को सुरुदेखि सञ्चालनमा ल्याइने जनाइएको थियो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्य रूपमा प्रगति भयो ।
पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ भएको याे आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब बनाएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको याे आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।
कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा अहिलेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । प्राधिकरणका अनुसार अहिले ८० प्रतिशत भौतिक प्रगति सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अबको ६ महिनामा परीक्षण उडान हुने गरी तयारी भइरहेको जानकारी दिँदै एक वर्षभित्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिने बताउनुभयो ।
आन्तरिक विमानस्थलको सुदृढीकरण गर्दै आवश्यकताका आधारमा विमानस्थल सञ्चालन गर्न तथा धनगढीलगायत विमानस्थलको स्तरोन्नतिको काम पनि सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।