कोप–२६ सम्मेलन : हिमाली क्षेत्रको अर्थतन्त्र सुधारमा काम गर्न विश्व समुदाय सहमत

 कात्तिक २५, २०७८ बिहीबार ६:५४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर कम गर्न विश्व समुदाय सहमत भएको छ।

स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ को प्राविधिक सत्रमा हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा अर्थतन्त्रको सुधारमा काम गर्ने सहमति भएको हो ।

प्राविधिक सत्रमा हिन्दकुश क्षेत्रको थप अध्ययन, अनुसन्धान गर्दै अर्थव्यवस्था तथा सम्भावनाबारे कार्यक्रम सञ्चालन गर्नका लागि विश्व समुदाय सहमत भएसँगै बेलायतले आफ्नो आर्थिक सहयोगको घोषणा पनि गरेको छ । बेलायत सरकारले २५० मिलियन अमेरिकी डलर आर्थिक सहायता दिने प्रतिबद्धता व्यक्त गरेको हो ।

त्यसैगरी अमेरिकाले हिमाली क्षेत्रका देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गएको कात्तिक १४ गतेदेखि सुरु भएको सम्मेलनमा अरु देशले पनि सहयोगको प्रतिबद्धता गर्ने क्रम जारी छ । पहिलो चरणको राजनीतिक सम्मेलनको सम्बोधनका क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व समुदायले साझा विषय बनाउनुपर्ने बताउनुभएको थियो ।

सम्मेलनको दोस्रो चरणको प्राविधिक समिति बैठकमा पनि नेपालले आफ्नो अडान निरन्तर राखेपछि नेपालले उठाएको विषयलाई प्राविधिक समितिले निर्णायार्थ प्रस्तुत गरेको सम्मेलनमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले बताउनुभयो ।

यो सहमतिले नेपाललगायतका हिमाली देशले विभिन्न सङ्घ/संस्थासँग समन्वय गरेर काम गर्न सक्ने बाटो खुलेको छ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया