सम्झाैता भएकाे नौवर्षपछि कर्णाली करिडोरकाे खुलालुमा पक्की पुल

 कात्तिक २५, २०७८ बिहिबार ९:४७:१९ | रासस
unn.prixa.net

कालीकाेट - कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।  

याे पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता  भइ २०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो । कन्काई नेपाल प्रगति जेभीले झण्डै १४ करोडमा पुल बनाउन ठेक्का पाएको थियो । सम्झौता भएको नौ वर्षपछि बल्ल पुल निर्माण भएको छ ।

एक महिनाभित्र नै पुल सञ्चालनमा आउने कम्पनीका सञ्चालक दीपक मैनालीले जानकारी दिनुभयो । 'औपचारिक शुभारम्भ गरेर एक महिनाभित्र नै सञ्चालनमा आउने छ ।' उहाँले भन्नुभयो, 'निर्माणको सबै काम सम्पन्न भएको छ ।'

करिडोरमा पुल नहुँदा नजिकैको जितेगडा बजारबाट फेरीमार्फत कर्णाली नदीमा गाडी तार्ने गरिएको कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका स्थानीय शिक्षक नवराज शाहीले जानकारी दिनुभयो ।

'पुल नहुँदा फेरीबाट गाडी तार्ने गरिएको थियो ।' उहाँले भन्नुभयो, 'अब पुल निर्माण भएपछि करिडोर क्षेत्रमा गाडी सञ्चालनका लागि सहज हुनेछ ।' त्यही करिडोरअन्तर्गतको खुलालुको पुल सञ्चालनमा आएको कालीकोटका पाँच , बाजुराका पाँच पालिकासहित मुगु र हुम्लावासीलाई गाडीबाट सञ्चालनमा सहज हुने रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले जानकारी दिनुभयो ।

'करिडोरको पक्की पुल सञ्चालनमा आएपछि कालीकोट, बाजुरा, मुगु र हुम्लाका स्थानीयवासीलाई सहज हुनेछ।' उहाँले भन्नुभयो, 'पक्की पुल नबन्दा ढुवानी धेरै खर्च लाग्ने र कर्णाली राजमार्गबाट कर्णाली करिडोरसम्म भारी बोकेर सामान ओर्सानु पर्ने बाध्यता रहेको थियो । अब त्यो समस्या पूर्णरुपमा हल हुनेछ ।'

करिडोरको पक्की पुल सञ्चालनमा आएमा सुर्खेत, नेपालगञ्जदेखि हुम्लासम्मका गाडी सिधै जाने बाटो खुल्ने पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया