तरलताको समस्या तत्काल समाधान गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

 कात्तिक २६, २०७८ शुक्रबार २०:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताउनुभएको छ । 

आज शुक्रवार भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र बिस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानका लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रहसमेत गर्नुभयो ।

‘विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट शिथिल रहेको उद्योग व्यवसाय बिस्तारै सुधार हुने अवस्थामा रहेको थियो । तर अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ । यसलाई तत्काल समाधान गरिएन भने यसले ठूलो र दीर्घकालीन समस्या पुर्‍याउनेछ’, उहाँले भन्नुभयो ।

उहाँले बजारमा देखिएको तरलताको समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको तर्फबाट पनि सरकारको ध्यानाकर्षण गरिसकेको बताउनुभयो ।

यस वर्ष बजेट ल्याउन ढिलो हुँदा सरकारी खर्च कम भएको र रेमिट्यान्सको आप्रवाह पनि घटेकाले बजारमा तरलता अभाव देखिएको वरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभयो । 

देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको चर्चा गर्दै उहाँले राज्यका हरेक संयन्त्रले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया