राजा पलम्बर र रूक्मिणीकाे प्रेमकथा पचली भैरव नाटकमा

 कात्तिक २७, २०७८ शनिबार १३:१२:२९ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डौको टेकुमा रहेको वाग्मती र विष्णुमती नदीको संगम स्थानमा पञ्चलिङ्गेश्वरको उद्गम भएको मानिन्छ । पाँच प्रकारका उर्जा मिलेर उत्पत्ति भएको पञ्चलिङ्गेश्वर अपभ्रंश भएर काठमाण्डौको पचली भएको भनिन्छ । यहाँ अवस्थित पचली भैरवले ब्रह्मटोल, चल्खु, टेकुलगायत काठमाण्डौको दक्षिण कोलियग्रामको सुरक्षा गरिरहेको जनविश्वाश छ ।

स्थानीयले पचली आजुको नामबाट पुकार्ने पचली भैरवको जात्रा हरेक वर्षको बडा दशैंको समयमा घटस्थापनाका दिन शुरू भएर पञ्चमीसम्म सञ्चालन हुन्छ। नेपालमण्डलका जात्राहरूमध्ये दशैंको समयमा हुने पचलीभैरवको जात्रालाई महत्वपूर्ण जात्राको रूपमा लिइन्छ । जात्राको क्रममा मुख्य दिन पञ्चमीका दिन पचली भैरवसहित नैअजिमा र मुसुकाः गणेश पनि भनिने रूद्रविनायक नाय्खिं गणेशको पनि जात्रा गरिन्छ । पचली भैरवको आकृतिसहितको सुनको घ्याम्पोलाई खटमा राखेर पचलीबाट टेकु,लगन, ज्याबहाल, जोशीदेगल, चिकंमुगल, हनुमानढोकासम्म परिक्रमा गराइन्छ ।  जीवित देवी कुमारीसँग पनि दृष्टि जुधाइने गरिन्छ । त्यस्तै हरेक १२ वर्षमा खड्ग सिद्धि जात्रा हुन्छ । पचली भैरवको १२ वर्षे जात्राको क्रममा राजासँग पनि शक्ति पुनःस्थापनाको प्रतिकको रूपमा खड्ग साट्ने गरिन्थ्यो ।

किराँतकालका पहिलाे राजा यलम्बर थिए भने दाेस्राे राजा पलम्बर । विभिन्न किंवदन्तीका अनुसार दोस्राे राजा पलम्बर नै पचली भैरव भएकाे विश्वास गरिन्छ ।  तन्त्रविद्यामा एकदमै निपुण राजा पलम्बर क्षणभरमा नै एक ठाँउबाट अर्को ठाँउमा जानसक्थ्यो भनेर भनिन्छ । राजकाज पनौतीमा भए पनि कामको सिलसिलामा फर्पिङ्गसम्म ओहोरदोहोर गर्नुपर्थ्याे ।

फर्पिङ्ग जाने क्रममा राजा पलम्बर भेष बदलेर पञ्चलिंगेश्वरको उत्पत्ति स्थलका रूपमा रहेको वाग्मती र विष्णुमतीको दोभानमा साधना गर्न पुग्दथे । त्यहाँ उहाँको भेट नेवार समुदायकी सुन्दरी रूक्मिणीसँग हुन पुग्यो।

पचली भैरव, उहाँकी प्रेमिका रूक्मिणी ( पछि देवीको रूपमा सिद्ध भएपछि नैअजिमा) र उहाँहरूको छोरा मुसुका गणेशसँग सम्बन्धित सामाजिक विश्वाश, जनश्रुति, कथन, भनाइ, आस्था,  मिथलाई रंगमञ्चमा पचलीभैरव सांस्कृतिक नाटकको रूपमा उतारेको छ ।

बज्र कला कुञ्जले पचली आजुको प्रेमकथालाई पचली भैरव सांस्कृतिक नाटकको रूपमा रंगमञ्चमा उतारेको  हो ।  काठमाण्डौ महानगरपालिकाको सहयोगमा ३८ वर्षदेखि चर्या नाचको प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बज्र कला कुञ्जले पचली भैरव कात्ति क २५ गतेदेखि टेकुको कौशी थिएटरमा मञ्चन गरिरहेको छ।

नाटकमा दैवी शक्ति र आसुरी शक्तिबीचको द्वन्द्वमा दैवी शक्तिको जित भएको देखाइएको छ । यस्तै नेपाल मण्डलमा पचली भैरवको उत्पत्ति र दक्षिण भेगको सुरक्षासँग सम्बन्धित प्रसङ्ग, भैरव, अष्टभैरव, अष्टमातृका, गणेश अजिमाका शास्त्रीय नाचहरु पनि समावेश गरिएको छ ।

बज्रकला कुञ्जका संस्थापक अध्यक्ष चन्द्रमान मुनिकारको कथा, परिकल्पना तथा निर्देशन रहेको नाटकमा नाट्य रूपान्तरण तथा सहनिर्देशन इँगिहोपो कोइच सुनुवारले गर्नु भएको छ ।

पचलीभैरवको हरेक वर्षमा हुने जात्रा तथा १२ वर्षमा हुने जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्ति  द्यसिं महर्जन, केदारमान खड्गी, भरत माली, पञ्च महर्जन, सानुमैया महर्जन, शरणगोपाल महर्जन, मनोहर मानन्धर,न्हुच्छेमाला मुनिकारसँगको विस्तृत छलफल गरेर गरिएको अध्ययन अनुसन्धान पछिमात्र नाटकले मूर्त रूप लिएको निर्देशक एवम् परिकल्पनाकार मुनिकारले बताउनुभयो ।

नाटकमा सुदनमान मुनिकार, सृष्टिना मुनिकार, अनिशा श्रेष्ठ, नानुमैयाँ महर्जन, संगीता थापा, पवित्रा राई, सिर्जना शर्मा, युवहाङ् राई, रोशनी चौधरी, करिना सुनुवार र इंगिहोयो कोइच सुनुवारको अभिनय छ भने ५ जना कलाकार स्टेज पछाडि बसेर आफ्नो कलालाई छाँया प्रविधिको माध्यमबाट देखाउँछन् । राजा पलम्बरले एक ठाँउबाट अर्को ठाउँमा गएर गर्ने गतिविधिलाई नाटकमा छाँयाको रूपमा देखाइएको छ।

मंसिर ४ गतेसम्म मञ्चन हुने नाटकले मूर्त अमूर्त सांस्कृतिक सम्पदाको सम्बन्ध देखाउँदै नेपाल मण्डलका परम्परागत चालचलन सम्बन्धी तथ्य युवालाई पुस्तान्तरण गर्न खोजेको छ। जुन धेरै हदसम्म सफल भएको छ ।

 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया