धार्मिक स्वतन्त्रता उल्लङ्घन गरेको आरोपमा १० देश अमेरिकाको 'राताे सूची' मा

 मंसिर २, २०७८ बिहिबार १४:५०:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले पाकिस्तान र चीनसहितका १० वटा देशलाई 'रेड लिस्ट' अर्थात् खतराको सूचीमा राखेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले धार्मिक स्वतन्त्रताको उल्लङ्घन गरेको भन्दै कन्ट्रिज अफ पार्टिकुलर कन्सर्न (सीपीसी) को सूची सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाले पाकिस्तान, चीन, इरान, रुस, साउदी अरब, एरिट्रिया, ताजकिस्तान, तुर्केमेनिस्तान र बर्मालाई खतराको सूचीमा समावेश गरेको छ । तर राष्ट्रपति जो बाइडेन प्रशासनले भारतलाई भने खतराको सूचीमा राखेको  छैन । धार्मिक स्वतन्त्रताको आकलन गर्ने एक आयोगले भारतलाई पनि खतराको सूचीमा राख्न सिफारिस गरेकोमा बाइडेन प्रशासनले भारतको नाम हटाएको खबरमा उल्लेख छ ।

आयोगले भारतमा नागरिकता संशोधन विधेयकमा मुस्लिम समुदायका कैयौँ अधिकार कटौती गरेको, दिल्लीमा भएको हिंसामा हिन्दू समुदायलाई 'क्लिन चिट' दिएर मुस्लिममाथि अत्यधिक दमन गरेको भन्दै खतराको सूचीमा राख्न सिफारिस गरेको थियो । भारतमा मुसलमान समुदायमाथि व्यापक दमन भइरहे पनि अमेरिकाले उदारता देखाएको भन्दै आलोचना भइरहेको छ ।

इन्डियन–अमेरिकन मुस्लिम काउन्सिलले भारतमा मुस्लिम समुदायलाई चरम दमन र यातना दिएर मानव अधिकार तथा धार्मिक अधिकारको हनन हुँदा पनि अमेरिकाले खतराको सूचीमा नराखेको भन्दै निन्दा गरेको छ । आयोगले खतराको सूचीमा राखेका प्रावधान लागू गर्न अमेरिकी प्रशासन बाध्यकारी नभए पनि यसले ठूलो महत्त्व राख्ने खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया