पारस र हिमानी एउटै मञ्चमा : छुट्टाछुट्टै आए, ‘सी यू’ भन्दै बिदा भए पारस

 भदौ २१, २०७५ बिहिबार १८:१:२० | किरण लोहनी

गोरखा – राजतन्त्रको अन्त्यपछि समाजसेवामा व्यस्त पूर्व युवराज्ञी हिमानी शाहको पहलमा गोरखामा एक विद्यालय भवनको पुनर्निर्माण गरिएको छ । 

शाहले स्थापना गरेको हिमानी ट्रस्टले जापानी संस्था बुद्धिस्ट अर्गनाइजेसन जोडोसँगको सहकार्यमा विद्यालय भवन पुननिर्माण गरेको हो । पालुङटार नगरपालिका वडा नम्वर ५ को भवानी माविको नवनिर्मित ८ कोठे भवनको हिमानी ट्रष्टकी संरक्षक कोमल शाहले उद्घाटन गर्नुभयो । ४ करोड ९५ लाख रुपैयाँको लागतमा छात्र र छात्राको छुट्टाछुट्टै शौचालयसहित ८ कोठा रहेको दुई तले भवन बनेको हो ।

पालुङटारकै स्थानीय समाजसेवी भगिरथ गुरुङले हिमानी ट्रष्ट र विद्यालयको सम्पर्क स्थापित गराइदिनुभएको थियो । लगत्तै हिमानी शाहले भूकम्पले क्षतिग्रस्त विद्यालयको अध्ययन गर्नुभएको थियो । २०७३ मंसिर १९ गते आफैले भवन निर्माणको शिलान्यास गर्नुभएकी हिमानीले उद्घाटनका लागि भने संस्थाकी संरक्षक सासू कोमललाई सहभागी गराउनुभयो । 

उद्घाटन कार्यक्रममा पूर्वयुवराज पारस, पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलगायत पूर्वराजपरिवारका सदस्यहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यक्रममा सम्बोधन भने गरेनन् । तर हिमानी ट्रष्टले नै विद्यालयका लागि अर्को ८ कोठे भवन पनि बनाइदिने भएको प्रधानाध्यापक ओजराज गिरीले बताउनुभयो । झण्डै ११ सय विद्यार्थी अध्ययन गर्ने त्यो विद्यालयको सबै भवन २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको थियो । अहिले पनि १० वटा कक्षा जस्ता र बाँसले बारेको टहरोमा सञ्चालनमा छ ।

८ कोठे भवन बनेपछि केही सजिलो हुने भए पनि अपुग भएकाले ट्रष्टले नै नयाँ भवन बनाइदिने भएको गिरीले बताउनुभयो । भवन निर्माणका लागि हिमानी ट्रष्टसँग सम्झौता भैसकेको प्रधानाध्यापक गिरीको भनाई छ । कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिसी साइगो पनि सहभागी हुनुहुन्थ्यो । उहाँले भूकम्पपछिको पुननिर्माणमा जापानले जाइका लगायत संस्था मार्फत गरिरहेको सहयोगलाई जारी राख्ने बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माण बाहेक अन्य सहयोग पनि निरन्तर अघि बढ्ने उहाँको भनाई छ । 

पारस र हिमानी :दशकपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा 

पालुङटारको व्यस्त वजार ठाँटीपोखरी नजिकैको विद्यालयमा भवन उद्घाटनसहित वक्ताहरुले पुनर्निर्माण लगायतका विषयमा गम्भीर भनाई राखिरहे पनि सहभागी धेरैको ध्यान भने पारस र हिमानी शाहतर्फ थियो । मञ्चको बीच भागमा कोमल शाह र उहाँको बायाँतर्फ पारस र दायाँतर्फ हिमानी बसेका थिए । कुनै बेला पारस र हिमानीको सम्बन्ध चिसिएको चर्चा सुनेका सहभागी विद्यार्थी, अभिभावकलगायतको चासो उनीहरुले संवाद गर्लान् नगर्लान् र गरिहाले के भन्लान् भन्नेमा रहेको बुझ्न सकिन्थ्यो ।

बीचमा कोमल शाह भएकाले उनीहरुले मञ्चमै त कुराकानी गर्न पाएनन् तर एक अर्कालाई हेरेर बेलाबेला मुस्काइरहेका देखिन्थ्यो । मञ्चको औपचारिक कार्यक्रमको बीचमा भवन उद्घाटनको पालो आयो । मञ्चको पछाडि रहेको भवन उद्घाटनका लागि प्रमुख अतिथि कोमलसहित पूर्वराजपरिवारका सदस्य, जापानी राजदूतलगायत पाहुनाहरु त्यसतर्फ लागे । 

सबैको प्रतीक्षा अनुसार उद्घाटनका लागि जाँदै गर्दा बाटोमा पारस र हिमानीले कुराकानी गरे । सहभागीहरु त्यही दृश्य आफ्ना मोबाइलमा तँछाडमछाड गरिरहेका थिए । उद्घाटन सकेर मञ्चमा फर्कने बेलामा पनि उनीहरु सँगै परे र कुराकानी गर्दै अघि बढे । त्यतिबेला उनीहरु दुवैजना एक अर्कालाई हेर्दै मुस्कुराएका थिए । दुवै जना कार्यक्रममा सहभागी हुन काठमाडौंबाट छुट्टाछुट्टै आएका हुन् ।

पारस आज बिहान काठमाडौंबाट हेलिकप्टर चढेर बहिनी प्रेरणा, काका धिरेन्द्रका छोरीहरु शितास्मा र दिलासासहित पालुङटार ओर्लिनु भएको थियो । हिमानी भने सासू कोमल शाहसहित हिजो काठमाडौंबाट मुग्लिनस्थित एक रिसोर्टमा बसेर आज बिहान पालुङटार आइपुग्नुभएको हो । 

कार्यक्रम सकेर उनीहरु फेरि छुट्टाछुट्टै बाटो भएर काठमाडौं फर्किए । छुट्ने बेला हिमानीले पारसलाई नमस्कार गर्नुभयो, पारसले नमस्कार फर्काउँदै मन्द मुस्कानसहित ‘सी यू’ भन्नुभयो । १० वर्षयता पारस र हिमानी शाह सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । पारस ७ वर्ष थाइल्याण्डमा बसेर ३ वर्षअघि काठमाडौं फर्किनु भएको हो ।

काठमाडौंमा पनि उहाँ छुट्टै बस्दै आउनुभएको छ । सुरुमा काकाको घर जीवनकुञ्जमा बस्नुभएका उहाँ उक्त बंगला भत्काइएपछि ललितपुरमा एक अपार्टमेन्ट भाडामा लिएर बस्ने गरेको पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचीव फणिराज पाठकले बताउनुभयो । ‘पारिवारिक जमघटमा त उहाँहरुको भेट भैरहन्छ’ पाठकले भन्नुभयो, ‘पब्लिक फोरममा भने निकै वर्षपछि देखिनुभएको हो ।’ 

बिहान सात वजेतिरै पालुङटार आइपुगेका पारसले स्थानीय बासिन्दा र राप्रपाका कार्यकर्ताहरुसँग स्थानीय एक होटलमा अन्तक्र्रिया गर्नुभएको थियो । ‘हाम्रो कुरा धेरै सुन्नुभयो’, राप्रपाका पुराना नेता होमसिं बस्न्यातले भन्नुभयो, ‘राष्ट्र र धर्मलाई बचाउनुपर्छ भन्ने उहाँको भनाई थियो ।’
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Lila Nath Pageni

    Sept. 6, 2018, 11:58 p.m.

    समाजसेवी हिमानी शाह लाई धेरै धन्यवाद अनि अन्य सहभागी हरुलाई पनि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया