सुडानका अपदस्थ प्रधानमन्त्री हमडोक फेरि सत्तामा फर्कने

 मंसिर ५, २०७८ आइतबार १९:४०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुडानमा गएको महिना सैन्य विद्रोहपछि नजरबन्दमा रहेका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हमडोक सरकारको नेतृत्वमा फर्कनुहुने भएको छ ।

जनरल अब्देल फताह अल–बुर्हान र हमडोकबीच राजनीतिक बन्दीहरूलाई रिहा गर्ने र हमडोक प्रधानमन्त्रीमा फर्कने सहमति भएको मध्यस्थकर्ता फदलाल्लाह बर्मालाई उदृत गर्दै बीबीसीले जनाएको छ । सुडानी मध्यस्थकर्ताहरूको समूहले विज्ञप्ति निकालेर हिजो शनिवार राति अबेर सहमति भएको र आज आइतवार हस्ताक्षर हुने जनाएको छ ।

नजरबन्दमा रहेका अपदस्थ प्रधानमन्त्री र सैन्य नेतृत्वबीच सहमति जुटेकाले चाँडै हमडोक प्रधानमन्त्री हुने र बन्दीहरू रिहा हुने विज्ञप्तिमा उल्लेख छ ।

गएकाे अक्टोबर २५ मा सुडानको सेनाले सरकार विघटन गरेर आपत्काल घोषणा गरेको थियो । सैन्य विद्रोहपछि भएका प्रदर्शनमा ४० जनाको ज्यान गएको छ । थप रक्तपात रोक्नका लागि हमडोकले सहमति गर्नुभएको उहाँकाे निकट स्राेतलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०७८

तपाईको प्रतिक्रिया