'ओमिक्राेन' भेरियन्टबारे सरकारको तयारी

 मंसिर १३, २०७८ सोमबार १४:१५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताउनुभएको हो । 

उहाँले नेपालमा कोरोना सङ्क्रमणकाे जाेखिम कायमै रहेकाले र भर्खरै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी देशबाट नेपाल आउनेहरूलाई अन अनराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी देशबाट यात्रु नल्याउन विभिन्न एअरलाइन्सलाई निर्देशन दिइसकेको बताउनुभयो । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पाेखरेल

प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकी अफ्रिकी देशमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकाले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताउनुभयो । उहाँले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताउनुभयो ।

प्रवक्ता पोखरेलले भन्नुभयो, ‘हामी पूर्णरूपमा सुरक्षित भइसकेको अवस्था होइन । विभिन्न किसिमको भाइरसको सङ्क्रमण छ भन्ने कुरा पहिलेदेखि नै पनि थियो र अहिले फेरि ओमिक्रोन भन्ने भाइरसको सङ्क्रमण अफ्रिकी देशबाट आएको छ भन्ने कुरा सुनिएको छ । अहिले सतर्कता अपनाउँदै अफ्रिकी देशबाट आउने नागरिकलाई अन अराइभल भिसा दिन बन्द गरौँ भनेर अध्यागमन कार्यालय र २२/२३ वटा कति एअरलाइन्स छन् ती सबैलाई निर्देशन दिइसकेको अवस्था छ । यसबारेमा सीसीएमसीमा पनि छलफल भइरहेको छ । जे कुरा आउँछ, त्यहीअनुसार हामी प्राविधिक सल्लाहअनुसार कार्यान्वयन पक्षमा कडा रूपमा जान्छौँ ।’

उहाँले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताउनुभयो । प्रवक्ता पाेखरेलले नेपाल भित्रिने नाकामा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरूलाई जाँच गर्न र नजिकको स्वास्थ्य चौकी पुर्‍याउन निर्देशन दिएको बताउनुभयो ।

दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा काेराेना भाइरसकाे नयाँ भेरियन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । यो नयाँ भेरियन्ट अत्यधिक मात्रामा म्युटेशन (उत्परिवर्तन) हुने भएको भन्दै  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले थप चुनौती बढेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया