कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन विमानस्थल तथा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य

 मंसिर १४, २०७८ मंगलबार ९:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ ।

काेभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस अरु देशमा पनि फैलन थालेको हुँदा सतर्कता अपनाउन सरकारलाई सिफारिस गरेको छ । तर अहिलेसम्म कुन-कुन देशबाट आउनेलाई कति हप्तासम्म प्रतिबन्ध लगाउने भन्ने बारेमा निर्णय भइनसकेको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

सीसीएमसीसीको सुझाव अनुसार विभिन्न देशबाट नेपाल आउने नागरिकको स्वास्थ्य परिक्षण तथा व्यक्तिगत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल भित्रिने नाकामा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीलाई जाँच गर्ने र आवश्यक व्यक्तिलाई एक हप्ता क्वरेण्टीन गर्न थालिएको बताउनुभयो ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकामा रहेका सहायता कक्षमा छिमेकी देशबाट भित्रने व्यक्तिमा निगरानी थालिएको बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया