साफ च्याम्पियनसिप : शनिबार बंगलादेशविरुद्ध नेपालको अग्निपरीक्षा

 भदौ २२, २०७५ शुक्रबार १५:१:५१ | रासस
unn.prixa.net

काठमाडौं – साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । 

समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । 

जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बङ्गलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ । आज बिहान ढाकामा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शनिबार हुने बङ्गलादेश विरुद्धको खेल नेपालले जित्नै पर्ने बताएका छन् ।

कप्तान महर्जनले साफ च्याम्पियनसीप अन्तर्गत समूह चरणको तेस्रो खेल खेलाडीका लागि मात्र नभएर सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको बताउनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । समूहकै अर्को खेलमा आयोजक बङ्गलादेशले पाकिस्तानलाई १–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै खेलमा निर्भर रहनेछ । 

दोस्रो चरणको खेल सकिँदा अङ्क तालिकामा बङ्गलादेश दुई खेलमा ६ अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । पाकिस्तान र नेपालकाे समान ३-३ अंक रहेकाे छ । समूहको पुछारमा रहेको भुटानले दुई खेलमा कुनै अङ्क जोडेको छैन । भुटान समूह चरणबाटै बाहिरिसकेको छ । 

नेपाललाई सेमिफाइनलमा पुग्न पहिलो विकल्प बङ्गलादेशविरुद्ध स्पष्ट जित हासिल गर्नु पर्नेछ । शनिबार पहिलो खेलमा पाकिस्तान र भुटानबीचको विजेताले पनि नेपालको अघिल्लो चरणको यात्रा तय गर्नेछ । 

भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बङ्गलादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि अर्को खेलमा पाकिस्तानले जिते नेपालले बङ्गलादेशविरुद्ध जित निकाल्नै पर्ने हुन्छ । यदि शनिबार हुने पहिलो खेलमा पाकिस्तानले भुटानलाई पराजित गर्‍यो र नेपाल बङ्गलादेशसँग हा¥यो भने पाकिस्तान र बङ्गलादेश सेमिफाइनल पुग्नेछन् । नेपाल समूह चरणबाटै घर फर्कनुपर्नेछ । 

समग्रमा बङ्गलादेशलाई बराबरी अथवा जितले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले पनि जीत दर्ता गरे अर्को चरण पुग्ने पक्का छ । बङ्गलादेशले घरेलु मैदानमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो जित निकालिसकेको छ । अब समूहको अन्तिम खेलमा बंगलादेशले नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया